अवरोध र बहिष्कारपछि सूचना टाँसेर संसद् बैठक स्थगित

आइतबार, फागुन २३, २०७७

काठमाडौं । प्रतिनिधिसभाको १० मिनेटका लागि स्थगन गरिएको बैठक सूचना टाँसेर यही फागुन २६ गते दिनको १ बजे बस्ने गरी स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटा पक्षको अवरोध एवं बहिष्कारपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगन गरेका थिए । संसद् बैठक नभएका समयमा सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने तथा अन्य कार्यसूचीमा अघि बढ्ने वा नबढ्ने भन्नेमा विवाद भएपछि प्रतिनिधिसभाको आजको पहिलो बैठक अवरुद्ध भएको हो । सभामुखले बैठकको कार्यसूचीमा रहेका विषयलाई प्रक्रियामा लैजानासाथ प्रमुख प्रतिपक्ष र दाहाल–नेपाल समूहले त्यसको विरोध गर्दै संसद्को कारबाही बहिष्कार गरेको थियो । यसअघि बैठकमा सभामुखले सांसदहरूलाई स्वागत गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।सदनको आजको कार्यसूचीमा विभिन्न आठ अध्यादेश पेश गर्ने  कार्यतालिका थियो । अघिल्लो अधिवेशन र यस अधिवेशनको बीचमा निधन भएका दुई प्रतिनिधिसभा सदस्य तथा १२ जना पूर्वसांसद्प्रति श्रद्धाञ्जलि प्रकट गरी शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि बहिष्कारका कारण प्रभावित भयो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय अध्यादेश सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेश, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश र कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही संशोधन गर्ने अध्यादेश, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची थियो ।

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि  प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनको आजको बैठकको कार्यसूचीमा रहेको अध्यादेश प्रस्तुत गर्ने विषय अघि बढाउनासाथ दाहाल–नेपाल समूहले उठेर विरोध जनाएपछि सभामुखले नेता भीम रावललाई बोल्न समय दिएका थिए । नेता रावलले सदन प्रारम्भ भएको पहिलो बैठकमा सांसद र पूर्वसांसदले गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै सदनले शोक प्रस्ताव पारित गरी बैठक अन्त्य गर्नुपर्नेमा अध्यादेशलगायत अन्य कार्यसूची राखिएको प्रति असहमति जनाउँदै फिर्ता नलिए सदन बहिष्कार गर्ने घोषणा गर्दै उक्त समूहका नेताहरू बैठकबाट बाहिरिएका थिए । नेता रावल बैठकमा बोलिरहँदा नेकपाकै अर्का सांसद खगराज अधिकारीले नियमापत्ति प्रकट गर्दै सदन चलेको पहिलो दिन नै अध्यादेश पेश गर्ने परम्परालाई ध्यान दिन सभामुखको ध्यानाकर्षण गराएका थिए । दाहाल–नेपाल समूहका सांसद बाहिरिएसँगै प्रमुख प्रतिपक्ष दलका सचेतक पुष्पा भुसालले सर्वाेच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयको आफ्नो पार्टीले स्वागत गरेको जानकारी दिँदै संसद्िभत्र देखिएका समस्या र चुनौतीलाई यहीबाट टुङ्ग्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘पहिलो दिनमै बैठक छाडेर जानुपर्ने अवस्था कसरी आयो, संवैधानिक परिषद् भनेको सरकार हो, सरकारले प्रस्तुत गरेको अध्यादेश स्वीकार गर्न सकिन्न ।’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले अध्यादेशलाई स्वीकार गर्न नसकिने भएकाले अविलम्ब फिर्ता गर्न माग गरे । प्रमुख सचेतक खाँडले भने, ‘अध्यादेश स्वीकार गर्नै सकिन्न । यो सदनमा प्रवेश गर्न सक्दैन, अविलम्व फिर्ता लिइयोस्, यदी यो फिर्ता लिइएन भने सदन अघि बढाउन सहयोग हुँदैन ।’ सचेतक खाँडले उक्त भनाइ राखेपछि प्रतिपक्षका सांसदले नाराबाजी गर्दै रोष्टम घेराउ गरे । प्रतिपक्षले नारावाजी र रोष्टम घेराउ गरिरहँदा सभामुख सापकोटाले प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश), २०७७ बैठक समक्ष पेश गर्न अनुमति दिएका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्ष दलले सदन बहिष्कार गर्दै बाहिर निस्केपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार