यमनको अडेननजिकै आक्रमण वरिष्ठ अधिकारीसहित पाँच सैनिकको मृत्यु 

बिहीबार, चैत १०, २०७८
Global Ime Bank

एडेन, १०  चैत । दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीले जनाएका छन् । 
एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्दा “कार बम विस्फोटमा मेजर जनरल थाबेट जावस र चार सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले एएफपीलाई बताएका छन् ।
एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । यस आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन ।
जावासलाई सन् २०१४ मा देशको गृहयुद्ध सुरु भएदेखि यमनका इरान समर्थित हुथी विद्रोहीसँग लड्ने प्रमुख कमाण्डरमध्ये एक मानिन्थ्यो । 
यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकार सन् २०१४ को अन्त्यमा राजधानी सानाबाट अडेनमा सारिएको थियो । हुथीले जबरजस्ती बाहिर निकालेका थिए । 
साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा हस्तक्षेप गरेको मार्च २६ मा भएको सातौँ वर्षगाँठको केही दिनअघि बम आक्रमण भएको थियो ।
यमनको दक्षिण शहर एडेनमा प्रायःकारबम वा क्षेप्यास्त्र आक्रमण भएको पाइन्छ । यस आक्रमणमा अधिकारीले विद्रोहीलाई दोष दिन्छन् । एडेन, पृथकतावादी आन्दोलनको घर पनि हो । इस्लामिक स्टेट समूहले दाबी गरेको धेरै आक्रमणको एडेनलाई लक्ष्य गरिएको छ । गत वर्ष अक्टोबरमा एडेनका गभर्नरलाई लक्षित गरी कारबम आक्रमणमा छको मृत्यु भएको थियो ।
गभर्नर अहमद लामलास र सरकारी मन्त्री सलेम अल–सोकोत्री दुवै विस्फोटबाट जोगिएका थिए । उनीहरूको काफिले जाने क्रममा सो विस्फोट भएको जनाइएको थियो ।
यसै महिनापछि, एडेनको एयरपोर्टनजिकै कारबम विस्फोटमा परी बालबालिकासहित कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको थियोे । त्यो विस्फोट डिसेम्बर २०२० पछिको सबैभन्दा घातक थियो । एडेनको एयरपोर्टमा क्याबिनेट सदस्यलाई लक्षित गरी विस्फोट गराइएको थियो । 
मन्त्रीहरू विमानबाट ओर्लने क्रममा भएको विष्फोटमा रेडक्रसको अन्तरराष्ट्रिय समितिका तीन सदस्यसहित कम्तीमा २६को मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । करिब तीन करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या बाँच्नको लागि सहायतामा निर्भर छ । वर्षौंको द्वन्द्वपछि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तीन लाख ८० हजार मानिसको ज्यान गएको छ । 
बारम्बार कूटनीतिक प्रयास गर्दा पनि दुवै पक्ष शान्ति सम्झौतामा सहमत हुन असफल भएका छन् । हुथी विद्रोहीले वार्ता अस्वीकार गरे पनि छ राष्ट्रको खाडी सहयोग परिषद्ले यस महिनाको सुरुमा यमनका युद्धरत पक्षबीच साउदी अरेबियामा अर्को हप्ता सुरु हुने वार्ता आयोजना गर्न खोजेको बताएको थियो ।– रासस÷एएफपी
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार