पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

बिहीबार, चैत १०, २०७८
Global Ime Bank

ब्रसेल्स, १० चैत । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर “ठूलो गल्ती” गरेको आरोप लगाएका छन् । “राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो,” उनले भने ।
उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादूरीलाई कम मूल्याङ्कन गरेका छन्, स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनुअघि भनेका छन् ।
स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताले पूर्वीसदस्य रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर “लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनःस्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ ।”

नेटोले युरोपमा थप सैनिक पठाउने

उत्तर एटलान्टिक सन्धी संगठन, नेटोले पूर्वीयुरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वीयुरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रले यसलाई सहमति प्रदान गर्ने बताए ।
नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् । 
उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो बिचार व्यक्त गरे ।   उनले सो पत्रकार सम्मेलनमा भने, मलाई लाग्छ अहिले पूर्वीयुरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रले यसलाई समर्थन गर्नुहुने छ ।

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।
उनले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिएका हुन् । उनले बुधबार भनेका थिए, हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौँ ।
युक्रेनका राष्ट्रपति जेलिन्स्किीले आफूले बिहीबार हुनलागेको ग्रुप अफ–७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराएको बताए ।
यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए । 
उनले ट्वीट गरेर युक्रेनलाई बचाउनका लागि विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह गरेका थिए ।

युद्धका कारण युक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने

युद्धका कारण युक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ । 
रूसको आक्रमणका कारण लाखौँ मानिस युक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो । 
अमेरिकाले अरु एक अरब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ । सो रकम युक्रेनमा उत्पन्न मानवीय सङ्कट समाधानका लागि प्रयोग गरिने अधिकारीहरूको भनाइ छ । 
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार, मानवीय सहायताअन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्रीलगायतका सहयोग प्रदान गरिने भएको हो ।– रासस/एएफपी
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार