सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १० चैत । नेकपा(एमाले) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो । स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । त्यस्तै उम्मेदवार सिफारिस गर्नका लागि वडा अध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख÷उपप्रमुखको हकमा गाउँ÷नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर÷ महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको उनले जानकारी दिए । बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदल सदस्यहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, मधेश प्रदेशका सहईन्चार्ज प्रभु शाह, पार्टीका बुद्धिजिवी परिषद इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजिवी परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इञ्जीनियर सुशिल ज्ञवाली विज्ञका रुपमा रहेको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए । उनले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफनो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गरिने बताए । अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल सम्वाद गर्ने जानकारी पनि उनले दिए । केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारीत गरेको छ । सोही पात्रोको आधारमा पार्टी पंक्ति परिचालित हुने एमालेले जनाएको छ । सबै केन्द्रीय नेताहरुलाई भुगोलमा केन्द्रीत हुन पार्टीले निर्देशन दिएको उपप्रमुख रिजालले बताए । बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम पारित गरेको छ । पार्टीका २९ वटा विभाग जिल्ला तहमा गठन गर्नसकिने पनि निर्णय भएको छ । अन्य पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि केन्द्रीय संगठन विभागले अभिलेख बनाइरहेको र जिम्मेवारी दिनका लागि केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ । प्रचार विभाग उपप्रमुख रिजालका अनुसार चैत मसान्तसम्म कम्तिमा एक महिलासहित ३ जना व्यक्तिलाई उम्मेवारको रुपमा सिफारिस गर्न निर्देशन दिइएको छ । त्यसैगरी, रिटर्नी फेडरेशन नेपालको इन्चार्ज डा. सुर्य पाठक र नेपाल उद्योग तथा व्यवसाय महासंघको इन्चार्ज भानुभक्त ढकाललाई तोकिएको छ ।