सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने बताएका छन् । बालुवाटरमा आइतबार साँझ बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् । यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका छन् । उनले सर्वाेच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका हुन् । सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ । ओलीले सर्वाेच्च अदालतको फैसला अनुसार एमालेको बैठक डाक्न लागेका हुन् । ‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै सहभागी एक नेताले जानकारी दिए । केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् । त्यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको भनाइ थियो । नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि प्रधानमन्त्रीले बताए । पार्टी प्रक्रियाकै क्रममा अदालतको फैसला आएकाले सबै सांसदहरुलाई बोलाइएको थियो । अब भने माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै बैठक बस्ने जानकारी ओलीले दिए ।