सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ, ९ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न कार्यकर्तालाई सचेत गराएका छन् । काठमाडौंमा बुधवार भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न सचेत गराएका हुन् । उनले आफनो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफनो स्थिति कमजोर भएका बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्नेमा जोड दिएका छन् । अध्यक्ष नेपालले भने, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफनो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस । हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ । स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नु हुँदैन । फेस मूल्यांकन गर्नुपर्छ । लोकप्रिय व्यक्ति चाहिन्छ । पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढने मान्छे चाहिन्छ ।’ अध्यक्ष नेपालले आफनो पार्टीमा रहेका मन्त्रीद्धय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेटन गएको कुरा झुटो भएको दाबी गरे । उनले ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफनो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पर्ने बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाएका छन् । अध्यक्ष नेपालले भने, ‘तपाईको र एमालेको पार्टीमा के फरक छ कमरेड ? तपाईका दुई मन्त्रीहरु एमालेमा जान लाग्नुभएको हो कमरेड ? अरु पार्टी र तपाईको पार्टीमा के फरक छ र तपाईलाई जिताउने कमरेड ? भनेर धेरै प्रश्नहरु उदाहरणको निम्ति एउटा प्रचार गरिएछ, दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठमध्यरातमा बालकोट पुगेछन, केपी ओलीसँग गोप्य वार्ता गरेछन, अब उनीहरुको टिकटबाट चुनावमा लडने रे । त्यसले कतिपय हाम्रा कमरेडहरुको निन्द्रा खराब । बिरोधीले, केपी ओलीको साइबर स्यालले प्रचार गरेको कुरालाई पत्याएर हो कमरेड भनिरहेका छन् । हैरान । हो को जवाफ दिँदा हैरान । सिधै ती त फटाहाहरु हुन भनेर जवाफ दिने हो । जसमा कुनै सत्यता छैन । गलत सूचना हो । एक पैसा पनि सत्यता छैन । यस्ता कुराले गर्दा तपाईको हाम्रो दिमाग खराब भएको छ । त्यसैले झुटो कुराको पछाडि जाने होइन । बरु केपी ओलीका अपराधहरु के के हुन ? जति छन त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनबिरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका । एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन । उनले जे पनि भनिदिन सक्छन ।’ अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डो प्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डो प्यासिफिकको अंग बन्ने कुरा काटेको बताए । अध्यक्ष नेपालले ओलीको विचारमा क्रान्तिकारिता नभएको जिकिर गर्दै दक्षिणपन्थी अवसरवादसँग उनी रहेको आरोप लगाए । अध्यक्ष नेपालले भने, ‘एमसीसीको कुरा गर्ने हो भने इण्डोप्यासिफिकको अंग हुने कुरा ल्याउने को हो ? केपी ओली, उनको को मन्त्री प्रदीप ज्ञवाली, कुन मिति हेर्नुहोस । हामीले डकुमेण्ट दिएका छौँ । त्यसको बिरोध गर्ने को ? हामी । बिरोध गरिसकेपछि अमेरिकाले हिजो अंग भनेको थियो अहिले काटयो । त्यही पनि केपी ओलीको कुरा ठूलो । जनताको बहुदलीय जनवाद व्यक्तिवादको सिद्धान्त हो ? निरंकुशताको सिद्धान्त हो ? एक व्यक्तिको आधिपत्यको सिद्धान्त हो ? होइन यो कमिटी प्रणाली हो । सामुहिकताको सिद्धान्त हो । लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसातीकरण हो । मतका लागि जनताको बहुदलीय जनवाद भन्ने काममा ठिक व्यक्तिवादी अहंकार र अधिनायकवाद लाँदने, यो चरित्र कम्युनिष्ट चरित्रसँग मेल खाँदैन । त्यसैले केपी ओलीको विचारमा क्रान्तिकारिता छैन । सिद्धान्तप्रति निष्ठा, सिद्धान्त छैन । त्यसैले उनको प्रवृति दक्षिणपन्थी अवसरवाद हो ।’ अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र १४ वर्षपछि केन्द्रिय कमिटीमा आएको भन्दै फुर्ति नदेखाउन चेतावनी दिए । अध्यक्ष नेपालले आफनो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफनो पार्टीलाई हेपेको सहन नसक्ने बताए । अध्यक्ष नेपालले भने, ‘४० प्रसेन्ट, ४० प्रसेन्ट भनेर कुरेर बसिरहेका थिए । हामीले पनि घटाएर २० प्रतिशतमा झा¥यौं । उनले मात्रै जान्दछन दाउपेच । १४ वर्ष जेल बसेका थिए, १४ वर्षपछि मात्रै केन्द्रिय कमिटीमा आएका हुन, त्यस्ताले धेरै फुर्ति नदेखाए हुन्छ । त्यसपछि हामीले पनि दाउपेच खेल्यौँ । २० प्रसेन्ट पारेर अध्यादेश ल्याएर कानूनबमोमि निर्वाचन आयोगमा दर्ता गरेर यो पार्टी हामीले खडा गरेका हौँ । साना दुःखले आज्र्या यो पार्टी होइन, चेतना भया ।’
फरक प्रसंगमा अध्यक्ष नेपालले मुलुकको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनतालाई रोजगारी, सीपप्रदान गर्ने लगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए । अध्यक्ष नेपालले भने, ‘यो जम्मैमा परिवर्तन आवश्यक छ । शिक्षा प्रणालीमा परिवर्तन गर्नु जरुरी छ । स्वास्थ्यनीतिमा परिवर्तन गर्न जरुरी छ । जनतालाई रोजगारी प्रदान गर्ने कुरामा, सीप सिकाउने कुरामा, यावत नीतिहरु तर्जुमा गर्नुपर्ने आवश्यक्ता छ । समस्यामा परेका गरिबीले पिल्सिएका जनतालाई सेवा सुविधा पु¥याउनु पर्ने कुरामा ध्यान दिन आवश्यकता छ ।’
अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए । उनले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली काँग्रेस पनि सहमत रहेको जिकिर गरेका छन् । अध्यक्ष नेपालले भने, ‘हामी सबै मिलेर चुनाव लडने हो भने केपी ओलीको पार्टीलाई धुलीसाथ हामी गर्न सक्छौँ । त्यो मूल्यांकन हामीले गरेका छौँ । केपी ओलीको घमण्डलाई चक्नाचुर पार्नुपर्छ भन्ने भावना नेपाली काँग्रेसभित्र पनि छ । उनीहरुलाई विदेशीहरुको आड । उनी विदेशीहरुको आडमा फुरफुर गरिरहेका छन । हामी नेपाली जनताको साथमा अघि बढने हो भने हामी खटन सक्नुपर्छ ।’ अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए ।