सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर, ८ चैत । सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना रहेको बताएका छन् । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनभित्र औंपचारिक रुपमा टुंगो नलागे पनि मन्त्रिपरिषद हेरफेर हुने संकेत गरेका छन् । जनकपुर विमानस्थलमा मंगलबार स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले मन्त्रिपरिषद हेरफेर भए आफनो पार्टीलाई थप मन्त्रालय दिन माग गरेको र त्यसमा सहमत हुनु भएको दावी समेत गरे । अध्यक्ष दाहालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री देउवासँग छलफल भए पनि सत्तारुढ गठबन्धनमा सो विषयले प्रवेश नपाएको स्पष्ट पारे । उनले भने, ‘गठबन्धनभित्र यो विषयमा औंपचारिक रुपमा छलफल भएको छैन । अव प्रधानमन्त्रीजीसँग लोसपाका नेताहरुको भेट भइराखेको कुरा प्रधानमन्त्रीजीले हामीलाई भन्नु भएको छ । तर गठबन्धनमा सामेल गर्ने वा अरु विषयमा अहिलेसम्म कुनै औपचारिक कुराकानी हाम्रो भएको छैन । सरकारमा सहभागिताको विषयमा पनि अहिलेसम्म गठबन्धनभित्र कुनै चर्चा-परिचर्चा हामीले गरेका छैनौं ।' 'मन्त्रिपरिषद् हेरफेरको कुरा त चलेको छ । तर औंपचारिक ढंगले टुंगिएको चाँही छैन', उनले भने, 'केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि छ । केही चाँही नयाँ आउने सम्भावना पनि छ । मैले प्रधानमन्त्रीजीसँग भनिराख्या छु–सबभन्दा ठूलो त्याग माओवादी केन्द्रले गरेको छ, गठबन्धनको निम्ति ।'
उनले भने, 'जति मन्त्रालय पाउनुपर्ने हो, त्यति हामीले हिजो प्रधानमन्त्रीको पार्टीको महाधिवेशन भएको र सहयोग गर्नुप¥यो भनेर उहाँले जोड दिनु भएको र माधवजीले पनि मत भर्खर नयाँ पार्टी बनाएको, मलाई साह्र दुःख छ, सहयोग गर्नु प¥यो भनेको हुनाले अव सहयोग गर्नेजति सबै काम माओवादी केन्द्रकै हुने गरेको छ । प्रधानमन्त्री बनाउन पनि माओवादी केन्द्रले नै सहयोग गर्दै आएको छ । तर अहिलेचाँही यदि मन्त्रीमण्डल हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार भाग चाहिन्छ भनेर भन्ने कुरा प्रधानमन्त्रीजीलाई भनेका छौं । उहाँ सहमत पनि हुनुहुन्छ ।’ अध्यक्ष दाहालले स्थानीय तह निर्वाचनमा आफनो पार्टीले एक्लै चुनाव लडने तयारी गरेको पनि दोहो¥याए । तर राम्रो परिणाम ल्याउनका लागि भने सत्तारुढ गठबन्धनलाई पनि साथमा लिएर जाने विषयमा आफूहरुले ध्यान दिएको भनाई थियो । अध्यक्ष दाहालले भने, ‘अव प्रमुख राजनीतिक दलहरु निर्वाचनको तयारीमा नै केन्द्रित भएर आफना क्रियाकलाप गर्दै गरेको तपाईहरुले देख्नु भएकै छ । हाम्रो यो प्रक्रिया पनि निर्वाचनको तयारीसँग जोडिएको प्रक्रिया नै हो । महाधिवेशनको नीति, सिद्धान्त र कार्यक्रमको पनि सम्प्रेषण गर्छौ । तर तत्काल अहिले जोड चाँही स्थानीय तह निर्वाचनमै छ । हामीले स्थानीय तह निर्वाचनमा सबैभन्दा पहिला त आफनै पार्टीलाई बलियो बनाउने, आफना जनाधारलाई सुदृढ बनाउने र आफनै बलबुतामा राम्रो निर्वाचन परिणाम निकाल्ने कुरालाई उच्च प्राथमिकता दिएर हामी गईराखेका छौं । र, साथीहरुलाई त्यसैको निम्ति जोड गर्न भनेका छौं । तर साथसाथै फेरी गठबन्धनसँग पनि छलफल गर्ने र गठबन्धनलाई पनि लिएर सकेसम्म राम्रो परिणाम निकाल्नेतिर पनि हाम्रो ध्यान छ ।’ अध्यक्ष दाहाल मधेश प्रदेशको स्थानीय तह निर्वाचन केन्द्रित पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन जनकपुर आएका हुन् । यसअघि माओवादी केन्द्रले भूगोलको ७ र गैरभूगोलको २ गरेर नौं वटा प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।