सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ८ चैत । नेकपा (एमाले) का नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुका बीचमा एकता आवश्यक रहेको बताएका छन् । काठमाडौंमा मंगलवार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा नेता भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्नेमा जोड दिए । उनले विशेषगरी विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विभाजन भएको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बिचमा एकता हुनुपर्नेमा जोड दिए । नेता भुसालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सके देशको लोकतन्त्र बलियो हुने पनि तर्क गरे । उनले विगतमा पार्टी विभाजन हुनुमा सबैको भूमिका छ भनेर आ—आफूले आत्मआलोचना गरेमा तत्कालका लागि स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गर्न सकिने तर्क गरे । आसन्न स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गरेर पार्टी एकताका लागि आधार तयार गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्नुपर्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्ने भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो । हाम्रो लोकतन्त्रलाई बलियो बनाउने हो । वामपन्थलाई बलियो बनाउने हो । कम्युनिष्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्याहरु आए र ति समस्याहरुका कारणले जसरी कम्युनिष्ट आन्दोलन विभाजित भएर गएको छ, यो विभाजनमा हामी सबै जिम्मेवार छौँ भन्ने मात्रै महशुस भयो भने, नेताहरुले जो यसका मुख्य प्लेयरहरु हुन, सहायक हामीहरु पनि हौँ । मैले पनि त्यो महशुस गर्नुपर्छ ।'
'पद अनुसार, भुमिका अनुसार यो विभाजनमा तिनीहरुको योगदान छ । यसका लागि सबैले यो महशुस गरिदिउँ कि हामी सबै जिम्मेवार छौँ । कसको कति छ पछि बिचार गरौँला भन्ने एउटा मात्रै स्टेटमेन्ट भयो भने अहिले गठबन्धन चाहीँ बन्न सक्छ', उनले भने, ‘यो चुनावमा गठबन्धन बन्न सक्छ । हामीले गल्ती गरेका छौँ । हामीले गल्ती नगरीकन यो अर्कैले आएर फोडिदिएको होइन, यसको जिम्मेवार हामी हौँ । यति मात्रै भनियो भने एउटा प्रक्रिया सुरु भइहाल्छ यसले चुनावमा हाम्रो एउटा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ । राजनीतिक रुपले यतिमात्रै भन्दा हुन्छ जस्तो लाग्छ मलाई ।’ नेता भुसालले नेताहरुका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बिगतको अनुभवहरुबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरुको नीजि स्वार्थमा टेकेर गर्नु नहुने बताए ।