पूर्वमन्त्री प्रेम सिंह र अभिनेत्री करिश्मा एमाले प्रवेश 

केपी ओली भन्छन्, 'निर्वाचनमा हामीले बहुमत ल्याउँछौं'
मंगलबार, चैत ८, २०७८

काठमाडौं, ८ चैत ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । काठमाडौंमा मंगलबार पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफनो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने दाबी गरे । अध्यक्ष ओलीले जय मधेश भन्ने नै एमालेले भएको पनि जिकीर समेत गरे । 
एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उनको दावी थियो । अध्यक्ष ओलीले भने, ‘आगामी इलेक्सनमा हामी बहुमत ल्याउछौं । र, ल्याउनुपर्छ यस देशका लागि । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हामीले बहुमत ल्याउनपर्छ, ल्याउने गरी लाग्नुस । देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ । समृद्ध नेपाल बनाउनुपर्छ । यहाँ शिव पटेलजीले जय मधेश भन्ने पुरानो बानी छ भन्नुभयो । अव जय मधेश भन्ने नै एमालेले हो । मधेशको जय गर्नै एमालेले हो । मधेशले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’
अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने उनको तर्क थियो । अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको उल्लेख गर्दै उनीहरुलाई आफनो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताए । उनले भने, ‘म सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्दछु । आफनो राजनीतिक भविष्य के हुन्छ भन्ने होईन । देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधिनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितहरुको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हितहरु सुरक्षित नहुने भन्ने हुँदैन । सिंगै देश सुरक्षित हुन्छ । सिँगै देशका हितहरु सुरक्षित हुन्छन । र, हामी सबै सुरक्षित हुन्छौं । त्यसकारण म साथीहरुलाई ढुक्क भएर काममा लाग्न, अगाडि बढन हार्दिक आग्रह गर्दछु । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’
समाजवादी जनता पार्टीनै एमालेमा समाहित गर्नु भएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दूरदृष्टि र राष्ट्रवादी नेताको नेतृत्वमा राष्ट्र निर्माणका काममा समाहित हुन एमाले प्रवेश गर्नु परेको बताए । त्यस अवसरमा उहाँले आफनो पार्टी र आफनो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । 
चर्चित अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिवद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताइन् । उनले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताइन् ।  अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरु देशभर रहेकाले पनि आफूलाई सो पार्टीमा प्रवेश गर्न प्रेरित गरेको बताइन् । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार