मन्त्रिमण्डल हेरफेरको तयारी

मंगलबार, चैत ८, २०७८

काठमाडौं, ८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको मन्त्रिमण्डल पुनर्गठन गर्न गृहकार्य थालेका छन् । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनगठनको तयारी गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संकेत गरे । जनकपुरमा प्रचण्डले मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको संकेत गरेका हुन् । 
जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिमण्डल हेरफेरको कुरा भएपनि औपचारिक रुपमा निर्णय नभइसकेको जानकारी दिए । ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा त चलेको छ । औपचारिक ढंगले टुंगिएको भने छैन, सम्भावना चाहीँ छ,’ पत्रकारहरुसँग प्रचण्डले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि रहन्छ । केही नयाँ आउने सम्भावना पनि छ।’
प्रचण्डले मन्त्रिमण्डल हेरफेर भएको अवस्थामा माओवादी केन्द्रले हैसियतअनुसारको मन्त्रालय माग्ने बताएका छन् । उनले गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको बताउँदै अब हेरफेर हुने मन्त्रिमण्डलमा सोही अनुसारको मन्त्रालय पाउनुपर्ने बताएका छन्। यसमा प्रधानमन्त्री देउवा पनि सहमत रहेको उनले बताए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले चुनावी परिणामका लागि गठबन्धन नगरेको बताएका छन् । ‘माओवादी केन्द्र आफ्नै तागतमा चुनावमा लड्छ, हेर्नुभयो भने त्यहीअनुसारको अभियान पनि चलिरहेको छ,’ उनले भने । यद्यपि गठबन्धनलाई पनि संगै लैजानुपर्ने कुरामा सहमत रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार