राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

सोमबार, चैत ७, २०७८

काठमाडौँ, ७ चैत । नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ ।  
दक्ष जनशक्ति विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएका हुन । 
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै महिला दिदीबहिनीले पद प्राप्तिका लागि लागिरहनुुपर्ने बताउँदै पद प्राप्त भए पनि वा नभए पनि सङ्घर्ष गरिरहनुपर्ने धारणा व्यक्त गरे । उनले संविधानले व्यवस्था गरेअनुसार कांग्रेसमा महिला सहभागिता बढ्दै गएको र अझै थप उपलब्धिका लागि लागिरहन आग्रहसमेत गरे । 
नेता सिंहले स्थानीय चुनाव नजिकिँदै गर्दा पार्टीको उम्मेदवारको टिकटको आशा राख्नु स्वाभाविक भए पनि उम्मेदवार हुनका लागि टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताए । साथै उनले समय कम भएकाले घरघर टोलटोलमा गएर कांग्रेसका उम्मेदवार र कांग्रेसलाई विजय गराउन सबै लाग्नुपर्ने समेत बताए ।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बाँनियाले जिल्लाका १० वटै सङ्घीय क्षेत्रमा महिला सहभागी भई छुट्टै कार्यक्रम गर्न आफूले सहयोग गर्ने बताउँदै त्यसका लागि सबै महिला पनि सक्रिय हुनुपर्ने बताए । 
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको संविधान र कानूनले व्यवस्था गरेअनुसार राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितता गर्नका लागि राजनीतिमा महिला सहभागिता वृद्धि हुनु जरुरी रहेको उल्लेख गरिन् । साथै उनले आफूले उपप्रमुख भएपछि जनताको सेवा र विकास निर्माणका साथै राजधानीका पुरातात्विक महत्वका संरचना संरक्षणमा खेलेको भूमिकाका बारेमा अवगत गराइन् । 
दुई दिने कार्यक्रममा विभिन्न छ विषयका कार्यपत्र प्रस्तुत गरिने तय भएको र आज अनार बस्नेतले राजनीतिमा आफ्नो अनुभव र विष्णु बस्यालले राजनीतिमा महिलाको उपस्थिति विषयका दुई कार्यपत्र प्रस्तुत गरेका थिए । बाँकी चार कार्यपत्र आज प्रस्तुत गरिने केन्द्रका महासचिव हरिप्रिया पाण्डेले जानकारी दिइन् । 
कार्यक्रममा केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिमा महिला सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउँदै पुरानो इतिहास र अनुभव सुनाएर राजनीतिमा सहभागिता गराउँदा अनुशासन बढ्ने र इमान्दारितामा समेत वृद्धि हुने धारणा व्यक्त गरिन् । 

‘महिलालाई सक्षम बनाउने कार्यक्रमलाई जोड दिएका छौँ’
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले महिलालाई उद्यमशील बनाउन प्रदेश सरकारले सोही अनुरूपका कार्यक्रममा सञ्चालन गर्ने बताएका छन् ।    
पोखरामा आइडिटि (एकीकृत विकास तथा रुपान्तरण नेपाल) को आयोजना तथा अमेरिकी दूतावासको सहयोगमा महिला पर्यटन व्यवसायी (ओटेफ) का सदस्यका लागि आयोजित २१ दिने अङ्ग्रेजी भाषा तालिमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले महिलाको क्षमता दक्षता र सीपको पहिचान गरी ‘सक्षम पाइला, उद्यमी महिला’ भन्ने कार्यक्रममार्फत प्रदेशका महिलालाई आर्थिक स्वालम्बन बनाउने कार्यक्रम तय गरेको बताए । 
महिलाको सीप र दक्षतालाई चिन्न सके आर्थिक समृद्धि हासिल हुन सक्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पोखरा पर्यटकीय सहर भएकाले विश्वमा धेरैले बोल्ने अङ्ग्रेजी भाषाको  तालिमले यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने विश्वास व्यक्त गरे । 
गण्डकी प्रदेशका सांसद राजीव पहारीले पर्यटन क्षेत्रमा प्रभावकारी संवादका लागि अङ्ग्रेजी भाषा तालिम आवश्यक रहेको बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपश्चात अन्तर्राष्ट्रिय देशसँग जोडिने भएकाले पनि पर्यटकसँग प्रभावकारी संवाद लागि अङ्ग्रेजी भाषाको महत्व रहेको बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले प्रतिस्पर्धाको युगमा आफ्ना सेवा एवं उत्पादन बेच्नका लागि पनि प्रभाकारी भाषाको खाँचो रहेको औँल्याए । अधिकांश पर्यटकले बोल्ने बुझ्ने अङ्ग्रेजी भाषालाई व्यवसायी महिलाले सिकेर दोहोरो संवाद गर्न सके पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । 
अमेरिकी राजदूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकृत डा नविला मेसोमीले नेपालको पर्यटन विकासका लागि अमेरिकी राजदूतावास निकै कटिबद्ध रहेको बताए । उनले अङ्ग्रेजी भाषा तालिमले पोखराको पर्यटनलाई विकास गर्न सघाउ पु¥याउने बताइन् । 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पर्यटन क्षेत्रमा इशाराले नभइ पर्यटक र पर्यटन व्यवसायीबीच प्रभावकारी सेवा प्रवाह र पर्यटकको सन्तुष्टिका लागि बुझिने भाषामा दोहोरो संवाद आवश्यक हुने बताए । उनले अङ्ग्रेजी भाषा तालिमले दोहोरो संवादमा देखिने समस्या न्यूनीकरण हुँदा पर्यटकले पोखरा बसाइलाई सहज र स्मरणयोग्य बनाउन सक्ने बताए । 
आइडिटिका प्रशासनिक अधिकृत सुदीप गौतमले यस तालिमबाट दीर्घकालीन विकास लक्ष्यलाई पनि सघाउन मद्दत पुग्ने बताए । उनले पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादन २.३ प्रतिशतबाट १० प्रतिशत पु¥याउने, साथै यस क्षेत्रको रोजगारी एक लाखबाट बढाएर तीन लाख ८२ हजारसम्म पु¥याउने र पर्यटकको बसाइ १५ दिनसम्म लम्बाउन सक्ने लक्ष्य लिएको जानकारी दिए । 
कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष जीवन आचार्य, कार्यक्रम संयोजक मधुकर पाण्डे, कार्यक्रम विशेषज्ञ विश्वराज गौतमलगायतले पर्यटन क्षेत्रमा अङ्ग्रेजी भाषाको महत्वको बारेमा आफ्नो धारणा राखेका थिए । 
ओटेफका अध्यक्ष पार्वती पाण्डेले विदेशी पर्यटकसँग दोहोरो संवादका लागि भाषामा धेरै हुने गरेको जनाउँदै यस्ता समस्यालाई न्यूनीकरण गर्न अङ्ग्रेजी भाषा तालिमले सघाउ पु¥याउने बताइन । उनका अनुसार तालिममा पर्यटनका विभिन्न पेशा व्यवसायमा आबद्ध २५ व्यवसायी महिला तालिममा सहभागी हुने जानकारी दिइन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार