सोसल मिडिया
Contact Us
युनिकोड
झापा, ७ चैत । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ । दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्न थालेका हुन् । कांग्रेसले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराअघि सारेर घरदैलो अभियान सुरु गरेको छ । पार्टीले जिल्ला समिति, नगर र वडा समितिका सदस्यलाई गृह वडामा परिचालन गरेर चुनावी प्रचारको कामलाई तीव्र बनाएको जनाएको छ । विसं २०७४ को स्थानीय चुनावमा जिल्लाका अधिकांश पालिका गुमाएको कांग्रेस आगामी चुनावमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्य लिएर वडा तथा टोल केन्द्रित कार्यक्रम लिएर अघि बढेको छ । कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले टोलटोल पुगेका नेताले एमसिसी सम्झौताका बारेमा भ्रम र यथार्थ मतदातालाई जानकारी गराउन अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गर्न थालेको बताए । कांग्रेसको केन्द्रीय समितिले तयार गरेको एमसिसीबारेको पुस्तक टोलटोलमा वितरण भइरहेको उनले जानकारी दिए । उनले कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि साथै पालिका तहका पदाधिकारी टोल, नगरका पदाधिकारीलाई विधानले दिएको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिरहेको बताए । कांग्रेसले स्थानीय तहको निर्वाचन, प्रक्रिया पद्धति, मनोनयन विधि, बुथको सुरक्षा, सिलबन्दी, मुचुल्का तयार गर्दा पार्टीको भूमिका बारेमा कार्यकर्तालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ । सचिव हुमागाईंले जिल्लाका विभिन्न पालिकामा बुथको सुरक्षाका लागि स्वयंसेवक दस्ताहरु बनाइरहेको बताए । पार्टीको केन्द्रीय नीतिअनुसार नै जिल्लामा ‘एक बुथ १०० युथ’ भन्ने नारा नै तय गरेर युवालाई तालिम प्रदान गरिरहेको उनले जानकारी दिए ।
अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टी : प्रवक्ता डा महत नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले भने ‘‘अबका तिनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’ प्रवक्ता डा महतले कम्युनिष्टहरुले जनताले दिएको मतको मूल्याङ्कन र सम्मान गर्न नसकेकाले परिस्थितिबस अहिले कांग्रेस सत्तामा पुगेको प्रसङ्ग उल्लेख गर्दै भने ‘‘कांग्रेस आफूले चाहेर नभई कम्युनिष्टहरुले देशलाई दुर्घटनामा पार्न लागेकाले नेपाली जनताको चाहना बमोजिम नै कांग्रेसले सत्ताको नेतृत्व गर्नुपरेको हो ।’’ इतिहासमा देशलाई अप्ठ्यारो परेका समयमा यसरी नै कांग्रेसले देशलाई नेतृत्व दिने गरेको र नेपाली जनताले पनि साथ दिएको स्मरण गर्दै प्रवक्ता डा महतले अबका निर्वाचनमा पनि कांग्रेसलाई नै नेपाली जनताले पहिलो पार्टी बनाउने बताए । अघिल्लो नेकपाको सरकारको कुशासन र भ्रष्टाचार नेपाली नागरिकले देखेका र त्यस समयको ओली सरकारले दिएका झुठा आस्वासन पनि थाहा पाइसकेकाले नेपाली जनताले अब विवेक पु¥याइ नेपाली कांग्रेसलाई रोज्ने उनले बताए । उनले अबका सबै निर्वाचनहरुमा एक ढिक्का भई पार्टीलाई जिताउने काममा लाग्न जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे । उनले आजै नेपाल प्रेस युनियन सल्यानले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उठ्ने उम्मेदवाहरूको टुङ्गो चैतभित्रै लगाइसक्ने पनि बताए । पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुङ्गो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको जानकारी उनले दिए । उनले पहिलेका निर्वाचन जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म पनि पार्टीका तर्फबाट को उठ्ने भन्ने विषयको टुङ्गो नलाग्ने स्थिति यस पटक नआउने र समयमै निर्णय गरिने सो अवसरमा बताएका हुन् । प्रवक्ता डा महतले स्थानीय तहको उम्मेदवारीको सामान्य मापदण्ड निर्माण गरिने पनि जानकारी दिए ।