बङ्गलादेशमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता 

सोमबार, चैत ७, २०७८
Global Ime Bank

नारायाणगन्ज (बङ्गलादेश), ७ फागुन । बङ्गलादेशको राजधानी नजिकैको नदीमा आइतबार मालवाहक डुङ्गा दुर्घटनाग्रस्त भएपछि कम्तीमा पाँच जनाको मृत्यु भएको र दर्जनबढी हराइरहेको अनुमान गरिएको छ ।
प्रहरीले बताएअनुसार एमभी रूपोशी–९ आन्तरिक कार्गोवाहक ढाकाको दक्षिणपूर्वमा मालबाहक अर्को डुङ्गा एमभी अफ्सरुद्दीनसँग ठक्कर खाएपछि शितलक्ष्य नदीमा भएको दुर्घटनामा झन्डै दुई दर्जन मानिसहरू पौडी खेली किनारामा आउन सफल भएका स्थानीयले बताएका छन् । 
स्थानीय सञ्चारमाध्यमहरूले मानिस र सामानसहित डुबेको दृश्यलाई कैद गरी सामाजिक सञ्जालमा सम्प्रेषित भिडियोमा डुङ्गाबाट हतारहतार प्रदूषित पानीमा कराउँदै मानिसहरू हामफालेको देखिएको छ । 
स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीसँग भने, “हामीले एक पुरुष, तीन महिला र एक बालकसहित पाँच जनाको मृत शरीर पानीबाट निकालेका छौँ । बेपत्ता रहेका बाँकी मानिसहरूको खोजीमा उद्धारकर्मीहरू जुटेका छन् ।” 
उक्त डुङ्गामा ६० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको र उनीहरूमध्ये २२ जना सकुशल किनारामा आउन सफल भएको प्रहरी निरीक्षक अस्लम मियाले बताए । 
जिल्ला प्रशासक मोन्जुरुल हाफिजले तटीय गार्डका कर्मचारी र गोताखोरहरूले उद्धार कार्यमा सहयोग गरिरहेका बताउनुभयो । आइतबार अपराह्न बेपत्ताहरूको खोजीमा उद्धारमा खटिएका टोलीहरू हेर्दै शितलक्ष्य नदीको दुवै किनारमा ठूलो भीड जम्मा भएको बताइएको छ ।
बङ्गलादेशमा डुङ्गा दुर्घटना हुनुमा साधनको मर्मतसम्भारको कमी, कमजोर सुरक्षा प्रणाली र भारवहन क्षमताभन्दा बढी भारी बोक्नुलाई विशेषज्ञहरूले दोषी मान्ने गर्छन् ।
गत जुनमा एउटा पानीजहाजसँग ठोक्किएर ढाकामा एउटा डुङ्गा डुब्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो भने सन् २०१५ को फेब्रुअरीमा राजधानीको पश्चिममा रहेको नदीमा एउटा मालवाहक जहाजसँग भीडले भरिएको जहाज ठक्कर खाँदा कम्तीमा ७८ जनाको मृत्यु भयो ।–रासस/एएफपी 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार