हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल, ८४७ सर्वसाधारण मारिए

रुस-युक्रेन युद्ध
आइतबार, चैत ६, २०७८
Global Ime Bank

किभ, ६ चैत । बेलायतको रक्षा मन्त्रालयले रुसले 'युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको' र रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा भर परिरहेको बताएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ ।  'द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो । तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको छ' मन्त्रालयले जनाएको छ । यद्यपि माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका छन् । त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ।

सडकहरूमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए।तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले  बताएका हुन् । नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ । उनले त्यहाँका हजारौँ बासिन्दालाई रुस पठाइएको जानकारी दिए।रुसले विभिन्न सहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग 'अविलम्ब' वार्ताका लागि अघि सर्न आह्वान गरेका छन् । उनी शान्ति सम्झौताका लागि तयार सुनिए पनि अन्य देशहरूसँग रुसमाथि प्रतिबन्धहरूको माग गर्दै आएका छन् । उनले पछिल्लो पटक स्वीट्जरल्यान्डसँग रुसी कुलीन वर्गलाई कारबाही गर्न र त्यहाँ रहेको ब्याङ्कहरूमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्न आग्रह गरे ।

युक्रेनले चीनलाई रुसको आक्रामकताविरुद्ध अडान लिन समेत आह्वान गरेको छ।तर एक वरिष्ठ चिनियाँ अधिकारीले भने पश्चिमी राष्ट्रहरूले रुसमाथि लगाएको प्रतिबन्ध निकै 'अपमानजनक' भएको बताएका छन्  ।   युरोपेली सङ्घ, अमेरिका र बेलायतलगायत देशले रुसबाट तेललगायत सामाग्री र विभिन्न वित्तीय गतिविधिमा रोक लगाएको छ।यसैबीच पुटिनले युक्रेनले जर्मन चान्सलर ओलाफ शोल्जसँगको फोन सम्पर्कमा 'अवास्तविक प्रस्तावहरू' राखेर शान्ति वार्तालाई रोक्न खोजेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी निकायले युक्रेनमा आक्रमण सुरु भएदेखि हालसम्म ६४ बालबालिकासहित कम्तीमा ८४७ सर्वसाधारणको ज्यान गएको जनाएको छ । ज्यान गुमाएका गैरसैनिकमध्ये अधिकांश गोलाबारी र हवाई आक्रमणबाट मारिएका हुन् । तर मृत्यु हुनेहरूको वास्तविक सङ्ख्या अझ बढी हुने सम्भावना रहेको उक्त निकायले बताएको छ ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले ३३ लाखभन्दा बढी शरणार्थीहरू युक्रेनको पश्चिमी सीमा पार गरेर अन्यत्र भागेको बताइन् । उनका अनुसार करिब २० लाखभन्दा बढी मानिस देशभित्रै विस्थापित भएका छन् ।  बेलायतले 'रुससँग सम्बन्धको सम्भावना' भएका निजी विमानहरूलाई उड्न रोकिदिएको त्यहाँको यातायात मन्त्रीले बताएका छन् । मन्त्री ग्रान्ट शाप्सका अनुसार रुसीहरूद्वारा सञ्चालित वा चार्टर गरिएका र उनीहरूको स्वामित्वमा रहेका सबै विमानहरूलाई बेलायतमा उडान वा अवतरण गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धका बाबजुद उडान भरेमा त्यसलाई 'फौजदारी अपराध' मानिने बताइएको छ । आफूलगायत अन्य मन्त्रीहरूले पुटिन र युक्रेनमा उनले छेडेको 'अवैध युद्ध' विरुद्ध निर्णायक कारबाही गरिरहेको उनको दाबी छ । बेलायतले रुसमा उड्डयन तथा अन्तरिक्षसम्बन्धी प्राविधिक सामग्रीको निर्यातमा रोकसहित अन्य व्यापारिक प्रतिबन्धहरू लागू गरेक त्यहाँको वित्तीय प्रणालीबाट रुसका प्रमुख ब्याङ्कहरूसहित सबै ब्याङ्कहरूको सम्पत्ति रोक्का गरिएको छ । त्यस्तै रुसबाट आयात हुने भोड्कालगायत अन्य सामग्रीहरूमा ३५ प्रतिशत कर लगाइएको छ । क्रेमलिन निकट भएको ठानिएका कुलीनहरू विरुद्ध पनि यात्रामा प्रतिबन्धदेखि सम्पत्ति रोक्कासम्म गरिने तय भएको छ।-बिबिसी 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार