समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ : अध्यक्ष नेपाल

शनिबार, चैत ५, २०७८

गोरखा, ५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् ।  गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।  
“हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ”, उनले भने, “यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ ।” 
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको बताउँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको छ भने । “नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ”, उनले भने,  “एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।”

'पार्टीलाई बलियो बनाउनुपर्छ' 
नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए। 
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे । उनले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे । 
अध्यक्ष नेपालले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित पर्यटन, संस्कृति तथा नागरिक उड्डयमन्त्री प्रेम आले नेकपा एमालेमा फर्किने चर्चा हल्लामात्रै रहेको स्पष्ट पारे । “उहाँहरु एमालेमा फर्किने भनेर भ्रम फैलाइएको छ, त्यस्तो भ्रमबाट विचलित हुनुपर्दैन,” नेपालले भने । 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार