अफगानिस्तानमा विगत सात महिनामा १८० मिडिया आउटलेट बन्द

बिहीबार, चैत ३, २०७८
Global Ime Bank

 अफगानिस्तान (काबुल), ३ चैत । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गत सात महिनामा ४७५ मध्ये १८० मिडिया आउटलेट बन्द गरिएका छन् । मङ्गलबार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेट सबैभन्दा बढी प्रभावित भएको बताएको छ जसको परिणाम स्वरूप युद्धग्रस्त देशमा २९० मिडिया आउटलेट मात्र सक्रिय सञ्चालनमा छन् । लगभग ६० प्रतिशत पत्रकार बेरोजगार छन् ।
अफगानिस्तानको नेशनल हाउस अफ जर्नालिस्टका प्रमुख सैयद यासिन मतीनले सञ्चारमाध्यमलाई व्यापकरूपमा बन्द गर्नुको कारण आर्थिक समस्या र देशमा पेशेवर मिडियाकर्मीको पलायन भएको बताएका छन् ।
आर्थिक संकट र अफगानिस्तानमा मिडियाको विदेशी समर्थनको रोक बाहेक अफगान पत्रकारले उद्धृत जानकारीमा पहुँचको कमी हुनुलाई देशको मिडियाको लागि अर्को ठूलो समस्या भनिएको छ ।
अर्कोतर्फ, अफगानिस्तानको इस्लामिक इमिरेट्सले यस्ता दावीलाई अस्वीकार गर्दै आएको छ ।
उनीहरूले अफगानिस्तानमा मिडिया आउटलेट बन्द हुनु भनेको उनीहरूका दाताको अवरोधका कारण भएको बताएका छन् । उनीहरूले अफगान पत्रकार र मिडियालाई प्रतिबन्ध लगाएको अस्वीकार गरेको, खामा प्रेसले रिपोर्ट गरेको छ ।
गत वर्षको अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवअधिकारको अवस्था झन् बिग्रिएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ ।
तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र बालिकाको अधिकारको ठूलो रोलब्याक, सेन्सरशिप र मिडिया विरुद्ध आक्रमणसहित मानवअधिकार उल्लङ्घन गरेको तथ्याङ्क सार्वजनिक भएका छन् ।–रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार