सोसल मिडिया
Contact Us
युनिकोड
किभ, ३ चैत । मारिओपोलस्थित नाटकघरको भूमिगत तलामा १,००० भन्दा बढी महिला र बालबालिकाले आश्रय लिएर बसेको एक सांसदले बताएका छन् । उक्त नाटकघर रुसी हवाई आक्रमणमा परेको थियो । तर त्यहाँ कति जना हताहत भए भन्ने स्पष्ट छैन । सांसद दिमित्रो गुरिनका अनुसार उनका आमाबुवा पनि मारिओपोलमा फसेका छन्। उनले भने, 'त्यो भवन क्षतिग्रस्त भएको छ, भूमिगत तलामा भएको बम शेल्टरमा १,००० जनाभन्दा बढी महिला र बालबालिका छन् ।' 'केही समयअघि हामीले पाएको सूचनाअनुसार बम शेल्टर जोगियो र तयहाँ भएका मानिसहरू पनि जोगिए।' 'हामीलाई अझै कोही घाइते भएका छन् वा मरेका छन् भन्ने थाहा छैन। तर अधिकांश मानिस जीवितै छन् र ठिकै छन्।'
जेलेन्स्कीद्वारा जर्मन संसद्मा सम्बोधन
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलेआफ्नो देशमा आक्रमण गरेर ‘युरोपको स्वतन्त्रताविरुद्ध नयाँ पर्खाल बनाइरहेको’ भन्दै त्यसलाई रोक्न थप कदम चाल्न अपिल गरेका छन् । उनले युक्रेनले युद्धअघि रुससँगको आर्थिक सम्बन्ध सिमित पार्न जर्मनीलाई बारम्बार भनेको उल्लेख गर्दै बर्लिनले रुसलाई ‘स्वतन्त्रता र दासत्वबीचमा’ पर्खाल खडा गर्न सघाएको बताए । किएभबाट बर्लिनस्थित संसद्लाई सम्बोधन गर्दै उनले जर्मन चान्सलर ओलाफ सोल्टस्लाई भने, 'प्रिय सोल्ट्स्स्यो पर्खाललाई भत्काउनुहोस् ।' जेलेन्स्कीले रुस विरुद्ध प्रतिबन्धहरू ढिला लगाइएको र त्यस्ता कदमहरू मात्रै पर्याप्त नहुने बताएका छन् । जर्मन संसद्मा उनले १० मिनेट सम्बोधन गर्दा सांसदहरूले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए । सांसद्हरूलाई रुसी युद्ध अन्त्य गर्न सघाउन अनुरोध गर्दै उनले दोस्रो विश्वयुद्ध र कम्युनिस्ट शासन ढल्दाको जर्मन अनुभवको चर्चा गरेका थिए।
युक्रेन युद्धले विश्वव्यापी आर्थिक वृद्धि प्रभावित पार्ने ओईसीडीको चेतावनी एउटा नयाँ प्रतिवेदनले युक्रेन युद्धका कारण त्यसपछिको पहिलो वर्षमा विश्वव्यापी आर्थिक वृद्धि एक प्रतिशतभन्दा बढीले घट्नसक्ने जनाएको छ । अर्गनाइजेसन फर इकोनोमिक डेभलपमेन्ट (ओईसीडी)ले युद्धका कारण रुसमा ‘गहिरो मन्दी’ निम्तनसक्ने पनि उल्लेख गरेको छ । रुस र युक्रेनले विश्व अर्थतन्त्रको सानो हिस्सा मात्रै ओगट्छन् । तर तिनीहरू कच्चा पदार्थका ठूला उत्पादनकर्ताहरू हुन् । ओईसीडीले रुस(युक्रेन द्वन्द्वले अढाइ प्रतिशतसम्म मूल्यवृद्धि निम्त्याउनसक्ने जनाएको छ।
पुटिन 'युद्ध अपराधी' भएको 'बलियो प्रमाणु : ट्रस
यूकेका विदेशमन्त्री लिज ट्रसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन 'युद्ध अपराधी' भएको 'धेरै, धेरै बलियो प्रमाण' भएको बताएकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनलाई यसअघि 'युद्ध अपराधी' को सङ्ज्ञा दिएका थिए । त्यसले कूटनीतिक तनाव बढाउने सम्भावना देखिएको छ । बीबीसी रेडिओ फोरको वुमन्स आवरमा सोधिएको एउटा प्रश्नमा ट्रसले 'बाइडनले त्यसो भन्नु गल्ती नभएको आफूलाई लागेको बताइन् । 'उनी 'युद्ध अपराधीे भएको धेरै, धेरै बलियो प्रमाण छ,' उनले भनिन्. 'युद्ध अपराधहरू गरिएको धेरै, धेरै बलियो प्रमाण छ अनि त्यसका पछाडि पुटिन छन् ।' उनका अनुसार युद्ध अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले छिनोफानो गर्ने विषय भएको र 'हाम्रा लागि प्रमाण ल्याउनु' अहिले आफूले गर्न सक्ने राम्रो काम हो । पुटिनलाई ती अपराधप्रति उत्तरदायी यूकेले त्यस्तो प्रमाण सङ्कलन गरिरहेको उनको भनाइ छ ।
युद्ध सुरु भएपछि 'युक्रेनबाट २० लाख मानिस पोल्यान्डमा' युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ । पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन् । बुधवार मात्र ६०,००० मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ। उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो । बिहीवार जीएमटी ६ बजेसम्म १२,००० जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३,६०० थियो । पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन् ।
सबै मोर्चामा 'रुसी आक्रमण सुस्त' : यूके यूकेका रक्षा मन्त्रालयका अनुसार युक्रेनमा रुसी आक्रामक कारबाहीहरू ूसबै मोर्चामा धेरै सुस्तू भएको छ । आज बिहान प्रकाशित एउटा विज्ञप्तिमा रुसी सैनिकहरूले 'केही दिनयता स्थल, जल वा आकाशमा एकदमै कम प्रगति हात पारेको तथा उनीहरूले ठूलो क्षति बेहोरेको' उल्लेख छ । यूकेले युक्रेनी प्रतिरोध बलियो र सुसंयोजित भएको तथा प्रमुख सहरहरूसहित युक्रेनको अधिकांश भूभाग युक्रेनी नियन्त्रणमा रहेको जनाएको छ । युक्रेनी सेनाका अनुसार रुस अहिले गैरसैनिक नागरिकहरूलाई निसाना बनाउनेगरी हवाई आक्रमणमा केन्द्रित भएको छ । जमिनमा असफल भएकाले रुसी सैनिकहरूले त्यसो गर्न लागेको उसको आरोप छ । अहिलेसम्म रुसले आफ्ना ५०० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । तर अमेरिकी गुप्तचर निकायका अनुसार मृत्यु हुने रुसी सैनिकको सङ्ख्या ७,००० जति हुनुपर्छ। युक्रेनी सेनाका एक वरिष्ठ अधिकारीले रुसी सेना जमिनमा अघि बढ्न नसकेपछि रुसी लडाकु विमानहरूले गैरसैनिक संरचना र सर्वसाधारण मानिसहरू भएको ठाउँलाई तारो बनाएको दाबी गरेका छन् ।
आज सुरक्षा परिषद्को आपत्कालीन बैठक युक्रेनमा मानवीय सङ्कट बढिरहेको विषयबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आज बस्न लागेको छ । कूटनीतिक स्रोतहरूका अनुसार केही दिनयता युक्रेनमा गैरसैनिक क्षेत्रमा रुसी आक्रमण बढेपछि अमेरिका, ब्रिटेन, फ्रान्स, आयरल्यान्ड, नर्वे र एल्बेनीआको आह्वानमा उक्त बैठक बस्न लागेको हो । अमेरिका, यूके र फ्रान्स सुरक्षा परिषद्का सदस्य हुन्। रुस र चीन पनि उक्त परिषद्मा सदस्य छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सबै सदस्यराष्ट्र उपस्थित हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न दिने विषयमा छलफल भइरहेको विवरण पनि आएको छ ।
अमेरिकाले युक्रेनलाई 'किलर ड्रोन' उपलब्ध गराउने एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एपीले अमेरिकाले युक्रेनलाई १०० वटा 'किलर ड्रोन' पठाउन लागेको समाचार प्रकाशित गरेको छ । बाइडन सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत ती घातक अस्त्र किएभलाई उपलब्ध गराउन लागिएको जानकारी 'उक्त निर्णयबारे अवगत' ती अधिकारीले दिएका हुन् । नाम उल्लेख गर्न नचाहने ती सैन्य अधिकारीका अनुसार उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो। यसलाई झोलामा बोक्न सकिन्छ र अमेरिकी सैनिकहरू यसलाई 'कामिकाजे ड्रोन' भनेर चिन्छन् । कङ्ग्रेसका अधिकारीहरूले एनबीसी न्यूजलाई बताएअनुसार उक्त क्षेप्यास्त्र प्रणाली शत्रुपक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ । रुसी डिजाइनको भए पनि यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग छन्। तसर्थ युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने ठानिएको एएफपीले जनाएको छ ।
धेरै रुसी सैनिकको मृत्यु भएको जेलेन्स्कीको दाबी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसी सेनाले सिरिया, चेचन्या र अफगानिस्तामा भएका युद्धमा भन्दा बढी सैन्य क्षति बेहोर्नुपरेको दाबी गरेका छन् । बुधवार राति अबेला गरेको सम्बोधनका क्रममा उनले रुसी भाषामा बोल्दै रुसी जनतालाई भने, 'रुसी सैनिकहरूले युक्रेनमा त्यस्तो क्षति बेहोरेका छन् जुन न त सिरियामा न त चेचन्यामा बेहोर्नुपरेको थियो। सोभियत सैनिकहरूले न त अफगानिस्तानमा नै त्यस्तो क्षति बेहोर्नुपरेको थियो ।' यद्यपि युद्धबारे नियन्त्रित सूचना मात्र प्रवाह गरिएको रुसमा मानिसहरूले जेलेन्स्कीले भनेको कुरा सुन्ने सम्भावना न्यून छ । जेलेन्स्कीले केका आधारमा त्यस्तो दाबी गरेका हुन् भन्ने स्पष्ट छैन । केही दिनअघि उनले रुसी सैनिकहरूलाई आत्मसमर्पण गर्न आह्वान गरेका थिए । अमेरिकी गुप्तचर निकायले रुसले युक्रेनमा आक्रमण गरेयता ७,००० भन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको अनुमान गरेको छ । सन् १९७९ देखि १९८९ सम्म भएको अफगान युद्धमा झन्डै १५,००० सोभियत सैनिक, चेचन्यामा भएका युद्धहरूमा कम्तीमा १३,००० रुसी सैनिक र सिरिया युद्धमा केही सय रुसी सैनिकको मृत्यु भएको आकलन गरिएको छ।
पुटिनबारे बाइडनको टिप्पणी 'अक्षम्य' अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'युद्ध अपराधी' भनेका छन् । रुसी समाचारसंस्था टासका अनुसार क्रेम्लिनले बाइडनको उक्त टिप्पणीलाई 'अस्वीकार्य अनि अक्षम्य' मानेको छ । अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइएको छ। बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा बिनातयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए ।-बीबीसी