कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

बिहीबार, चैत ३, २०७८

कञ्चनपुर, ३ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् ।  मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । 

  मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । “निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भने, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।” एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए । तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ । 

अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको सङ्ख्या दुई लाख ९७ हजार ३४१ रहेको छ । निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका एक हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ । स्थानिय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मङ्सिरयता दुई पटक नामावली सङ्कलनको कार्य गरेको थियो । 

 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार