चुनावका लागि गाउँ जान सांसदलाई एमाले अध्यक्षको निर्देशन

बिहीबार, चैत ३, २०७८

 काठमाडौँ, ३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा गाउँगाउँका जनताको घरदैलोमा पुग्न सङ्घीय संसद्का आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
सो पार्टीको संसदीय दलको नयाँ बानेश्वरमा भएको बैठकमा अध्यक्ष ओलीले एमालेले पाँच दलीय गठबन्धनलाई एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जनताका बीचमा पुगेर मत माग्न आग्रह गरेका हुन् । 
दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सरकारले हठात् सङ्घीय संसद्को अधिवेशन अन्त्य गराएको र समसामयिक विषयमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिएका थिए । 
भट्टराईले वडा, पालिका र जिल्ला तहमा अधिवेशन सम्पन्नसहित साङ्गठनिक र वैचारिकरूपमा चुस्त हुँदै उम्मेदवार चयनका लागि मापदण्ड तय गरिसकेको अवस्थामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न एमाले पूर्णरूपमा तम्तयार रहेको बताए ।
उनले वर्तमान ‘विचार र सिद्धान्त नमिल्ने’ सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न एक्लै एमाले सक्षम रहेको जिकिर गर्दै हाल जनप्रतिनिधि रहेका र राम्रा काम गरेका तथा योग्यतम उम्मेदवारलाई सम्बन्धित कमिटीले सकेसम्म सर्वसम्मतरूपमा उम्मेदवार चयन गर्ने र ती कमिटीले नसकेमा माथिल्लो कमिटीले निर्णय दिने स्पष्ट गरे । 
उनले एमालेबाहेकका दलले नै एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन आवश्यक रहेको जनाउन थालेकाले समृद्धिको सोचसहित एमाले चुनावमा उत्रने बताए ।

‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’

एमालेका अध्यक्ष ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरकरुपमा बुझ्ने गरी पस्कन नहुने बताएका छन् ।
प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उनले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समानरुपमा हेर्नुपर्नेमा त्यो हुन नसकिरहेको औँल्याए । मिडियाले एमालेले सरकारको नेतृत्व गर्दा उठाएका विषयलाई अहिले बेवास्ता गरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, “मिडियाले सत्य स्थापित गर्न लाग्न आवश्यक छ ।” न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठनको गत फागुन २७ र २८ गते पोखरामा सम्पन्न महाधिवेशनले सकेसम्म समावेशी नेतृत्व चयनको प्रयास गरेको बताए ।–रासस
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार