सोसल मिडिया
Contact Us
युनिकोड
खाँदबारी, १ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए । नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निक्र्योल गरिने बताए । “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ”, उनले भने । स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । कांग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग समन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए । चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले उल्लेख बताए । कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए ।
कांग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे । “अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे । देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए । “एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ”, मन्त्री खतिवडाले भने ।–रासस