पन्छाउने रणनीति

मंगलबार, चैत १, २०७८

‘डु नट किप द बल इन योर कोर्ट‘  वाला संस्कार वा समस्यालाई पन्छाउने  वा अरूको थाप्लामा हालिदिने संस्कार त नेपाली प्रशासनको मात्र होइन, नेपाली राजनीतिलगायत सबै क्षेत्रको पनि संस्कृति बनिसकेको छ।  हाम्रा नेता र राजनीति पार्टीहरूलाई हेर्‍यो भने जहिले अरूलाई नै दोषी देखाइराखेका हुन्छन् । आफू सत्तामा भए पनि आफूले काम गर्न नसक्नुको मुख्य कारण विरोधी पार्टीले असहयोग गर्नु नै हो भन्छन् । तर उनीहरू कहिल्यै पनि त्यसको जिम्मेवारी लिन खोज्दैनन्, कसरी हुन्छ आफ्नो कमजोरीलाई ढाकेछाप गर्न खोज्छन् । उनीहरू बल सधै अर्काको कोर्टमा फालिराखेका हुन्छन् ।

सबैलाई चाहिने कुरा हो सुझाव र जताततै पाइने चिज पनि हो सुझाव। कसैलाई आफ्नो सानो समस्या सुनाउनुस्, तपाईँलाई चाहिए पनि, नचाहिए पनि भरपुर मात्रामा सुझाव पाउनुहुन्छ । त्यस्तो सित्तैमा पाइने सुझावमध्ये केही काम लाग्दा हुन्छन् त कति हुँदैनन् किनभने तपाईँको समय, परिस्थिति र सोचले ती कुराहरू निर्धारण गर्ने हो, न कि अरूको सुझावले। वास्तवमा सुझावलाई नराम्रो भनिहाल्न चाहिँ मिल्दैन किनभने सुझाव दिनेले प्रायः उसको भलो नै होस् भनेर सुुझाव दिएका हुन्छन् ।

कुनैबेला म एक सरकारी कार्यालयमा शाखा अधिकृतको पदमा कार्यरत थिएँ । काम गर्ने क्रममा पहिलेकाहीँ केही त्रुटिहरू पनि हुने गर्दर्थे । प्रायः गल्ती आफूले नजानेर हुन्थ्यो भने कतिपय गल्ती सहकर्मीहरूका कारणले । तर जे भए पनि त्यो गल्तीको जिम्मेवारी वहन गर्ने जिम्मेवारी भने मेरै काँधमा आइपर्थ्यो । गल्ती भएपछि त्यसलाई सच्याउन पनि पर्थ्यो र पुनः त्यस्तो गल्ती नदोहोरियोेस् भन्ने कुरातर्फ सदैव सचेत भइन्थ्यो । कहिलेकाहीँ त्यस्ता गल्तीका कारण हाकिमबाट खप्की खानुपर्ने अवस्था पनि आउँथ्यो। गल्ती भएपछि त्यसको जिम्मेवारी लिने र फेरि त्यसलाई नदोहोर्‍याउने कुरा पनि हाकिम सामु भट्याउँथे।

मेरो त्यस्तो अवस्था देखेर एकदिन अर्को हाकिम साबले मलाई बोलाएर एउटा सल्लाह दिए । त्यो सल्लाह थियो ‘डु नट किप द बल इन योर कोर्ट‘ अर्थात् आफ्नो कोर्टमा बल नराख्नु । ‘बुझ्नेलाई श्रीखण्ड‘ भने झैँ मैले उहाँले भन्न खोज्नुभएको कुरा मैले बुझिहालेँ । ‘देश खाएर शेष हुनु भएको‘ मेरो हाकिम साब नेपाली निजामति प्रशासनको सचिव भइसक्नु भएको कारण प्रशासन कसरी चल्छ र त्यसभित्र आफू कसरी चल्नु पर्छ भन्ने कुरा वहाँलाई राम्रैसँग थाहा थियो । त्यो समयमा मलाई वहाँको उक्त सुझाव भयंकर राम्रो लागेको थियो । मैले बेला–बेलामा त्यही रणनीति प्रयोग पनि गर्न थालेँ । त्यसले काम पनि राम्रै गर्‍यो, अरूको भनाई खानु परेन । पछि यसो विचार गर्दा थाहा भयो, मेरा वरिपरिका अन्य सहकर्मीहरूले पनि सधैँ त्यस्तै उपाय अपनाउँदै आएका रहेछन् । बुझ्दै जाँदा थाहा पाएँ– त्यो त सरकारी प्रशासनमा कर्मचारीहरूले अपनाउने साझा रणनीति पो रहेछ। स्पष्ट भएर भन्ने हो भने त्यो हाम्रो प्रशासनको संस्कार नै रहेछ । मलाई भने काम गरेको महिनौ पछि मात्र यी कुराहरू थाहा भयो ।

अहिले फर्केर हेर्दा ‘डु नट किप द बल इन योर कोर्ट‘ वाला संस्कार त नेपाली प्रशासन मात्र होइन, नेपाली राजनीति र अन्य क्षेत्रको पनि संस्कार बनिसकेको रहेछ । टेनिस खेलमा खेलाडीहरू बललाई ब्याटले हान्छन् । त्यसरी ब्याटले बल खेल्दा सकेसम्म आफ्नो कोर्टमा बल खस्न दिँदैनन् । बल खस्यो भने आफ्नो अङ्क घट्छ र प्रतिद्वन्द्वीले खेल जित्छ । त्यसैले बल आफ्नो कोर्टमा आउने बित्तिकै त्यसलाई प्रतिद्वन्दीको कोर्टमा फालिहाल्नु पर्छ । हाम्रा नेता र राजनीति पार्टीहरूलाई हेर्‍यो भने जहिले अरूलाई नै दोषी देखाइराखेका हुन्छन् । आफू सत्तामा भए पनि आफूले काम गर्न नसक्नुको मुख्य कारण विरोधी पार्टीले असहयोग गर्नु नै हो भन्छन् । तर उनीहरू कहिल्यै पनि त्यसको जिम्मेवारी लिन खोज्दैनन्, कसरी हुन्छ आफ्नो कमजोरीलाई ढाकेछाप गर्न खोज्छन् । उनीहरू बल सधै अर्काको कोर्टमा फालिराखेका हुन्छन् ।

राजनीतिमा जस्तै प्रशासनिक क्षेत्रमा पनि यही संस्कार व्याप्त छ । ठूला–ठूला कामहरू मात्र होइन, सानो काम पनि अरूकै कारण रोकिएको हो, त्यसमा आफ्नो कुनै हात नरहेको बताउँछन् । बाटो बनेन, किन बनेन भनेर प्रशासकलाई सोधे ठेकदारले गर्दा भन्छन्, ठेकदारलाई सोध्यो सरकारले पैसा दिएन भन्छ, नेतालाई सोध्यो हामीले गरिराखेका छौ तर सरोकारवालाहरूले अवरोध गरे भन्छन् । कसैले पनि आफ्नो कमजोरीको जिम्मेवारी लिँदैनन् । सबै अरूको कारणले काम भएन र अरूलाई दोष थोपर्न अभ्यस्त देखिन्छन् । सबै अर्काकै कोर्टमा बल हान्न तल्लिन छन्। यस्ता उदाहरण त कति छन् कति !

जस जति सधैँ आफूले लिने र अपजस जति सबै अरूलाई दिने । सधैँ त्यस्तो चल्दैन। जस लिन जान्नेले अपजस लिन पनि सिक्नुपर्छ र आफूलाई सुधार्दै जानुपर्छ। सधै ‘डु नट किप द बल इन योर कोर्ट‘ भन्ने संस्कारले कसैको पनि भलो गदैन । दोष जति अर्काको टाउकोमा थोपारेर क्षणिक रूपमा हल्का महसुस त होला तर दीर्घकालीन रूपमा समस्याको समाधान हुँदैन। त्यो त पानी माथिको ओभानो जस्तो मात्र हुन्छ ।

कुनै समयमा एकदमै राम्रो लागेको ‘डु नट किप द बल इन योर कोर्ट‘ भन्ने यो सुझाव अहिले फर्केर हेर्दा काम नलाग्ने सुझाव रहेछ भन्ने लागेको छ किनभने यसले जिम्मेवारी वोध गर्न होइन त्यसबाट भाग्न सिकाउँछ। साँच्चै नै देशको मुहार फेर्ने हो भने अबको सुझाव ‘बी रेस्पन्सिबल फर ह्वाट यू डु‘ हुनुपर्छ। राम्रो–नराम्रो, नतिजा जस्तो भए पनि आफ्नो काँधमा आएको जिम्मेवारी लिनुहोस्, जस मात्र होइन अपजस पनि लिनुहोस् भन्ने सुझाव सबैले सबैलाई दिनुपर्छ । नोटस् भाग्य वा दुर्भाग्य भनौँ, त्यस कार्यालयमा मैले एक वर्ष पनि बिताउन सकिँन। त्यहाँ मैले धेरै कामहरू सिक्ने मौका पाएँ। त्यहाँ काम छाडेपछि मैले अन्य धेरै संघ–संस्थाहरूमा काम गर्ने मौका पाएँ र अझ धेरै अनुभव संगाल्न पाएँ ।

 

श्रोतः स्वतन्त्र समाचार

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार