सोसल मिडिया
Contact Us
युनिकोड
गोदावरी, १ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताएका छन् । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले)सँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको उल्लेख गरे । उनले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गतको षडयन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको दाबी गरे । उनले भने, “विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।” लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रोपटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताए । निर्वाचनमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उहाँले पार्टीलाई एकढिक्का बनाउन लड्दालड्दै विभाजित हुन पुगेको बताए । पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो उनले भने, “तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।” अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए । उनले एमसिसी जस्ताको त्यस्तै पारित नगरी संशोधन गरेर पारित गरिएको बताए ।
स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्रद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले निर्वाचनको मिति नजिकिँदै गएकाले सङ्गठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए । उनले केन्द्रमा गठबन्धन सरकार भए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने टुङ्गो लागि नसकेकाले आफ्नै सङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने बताए । गठबन्धन होला नहोला तर हामीले आफ्नै सङ्गठनका बलमा स्थानीय तहको निर्वाचन लड्ने गरी तयारीका साथ लाग्नुपर्छ उनले भने । उनले महत्वपूर्ण स्थानमा गठबन्धन हुनसक्ने भन्दै अन्य स्थानमा विचार मिल्ने दलसँग तालमेल हुने बताए । उनले माओवादी पार्टीले वैचारिक दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए । उनले पार्टीले स्पष्ट नीति र कार्यदिशा बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे ।