निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ: नेका नेता सिटौला

सोमबार, फागुन ३०, २०७८

बनियानी, ३० फागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने, “आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।”

    दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । “जीतहार एउटा पाटो हो,” उनले भने, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।” नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो । रासस
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार