कांग्रेस सांसदहरूको सुझाव, ‘सरकारमा गए आफ्नै नेतृत्व’ 

कांग्रेस संसदीय दल बैठक 
शनिबार, फागुन २२, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले अरु दलको नेतृत्वमा सरकारमा जान नहतारिन नेतृत्वलाई सुझाव दिएका छन् । 
सरकार बन्ने भएमा कांग्रेस आफैंले नेतृत्व लिनुपर्ने भन्दै सांसदहरूले प्रतिनिधिसभामा दुइतिहाई नजिक रहेको कम्युनिस्ट पार्टीका कारण मुलुक गलत दिशामा गएको निष्कर्ष निकालेका छन् । दलको बैठक दुई कम्युनिस्ट पार्टी अब प्रतिनिधिसभामा कसरी अघि बढ्छन् पर्ख र हेरको रणनीतिमा केन्द्रीत भएको छ । कांग्रेस संसदीय दलको शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा सहभागी सांसदहरूले अहिलेको अवस्थामा कांग्रेसले सरकारलाई प्राथमिकता दिन नहुने भन्दै आवश्यकता देखिएमा मुलुकलाई निकास दिने निर्णय गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टीको दुईतिहाई नजिकको सरकारले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको, जनजीविकाका सवालहरूलाई बेवास्ता गरेको र प्रतिपक्षलाई पेलेर लैजाने रणनीति बनाएको भन्दै पार्टी नेतृत्वले सत्ताको आशमा गलत निर्णय नगर्न दबाव दिए ।  अधिकांश सांसदले नेकपाका दुवै समूह कांग्रेसका लागि बराबर भएपनि सैद्धान्तिक रूपमा ओलीसँगको सहकार्य गलत हुने धारणा राखेका थिए । दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठकको सुरुवात गर्दै सांसदहरूलाई सत्ता समीकरणका कुरा नउठान र संसद्मा प्रतिपक्षको प्रभावकारी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा सुझाव राख्न निर्देशन दिएका थिए । बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओलीसँग सहकार्य गर्न नहुने बताए । सांसदहरू भरतकुमार शाह, राजन केसी, देवेन्द्रराज कँडेललगायतले ओलीसँग सहकार्य गर्न नहुने बताएका थिए ।  उनीहरूले सत्ता सहभागितको कुरा उठाउँदा देउवाले त्यस विषयमा प्रवेश नगर्न भनेका थिए । संसदीय दलका सचेतकसमेत रहेकी पुष्पा भुसाल गौतमले सरकारले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधानसमेत मिचेको बताइन् ।  उनले तीन वर्षमा सरकारले गरेको जनभावना विपरीतका निर्णयहरूलाई कांग्रेसले चुनावी मुद्दा बनाउनुपर्ने बताइन् ।  सत्तामा जाने विषय प्राथमिकतामा राख्न नहुने उनको सुझाव थियो ।  सांसद गगनकुमार थापाले भने कांग्रेसले अहिले सत्ताको आश भन्दा दुई वर्षपछिको निर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।  केहीले सरकारमा जानै नहुने बताए भने धेरैले ओलीसँगको सहकार्य नगर्न सुझाव दिए । केही सांसदहरूले बाहिरै बसरे सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखे ।
सांसद सञ्जय गौतम अहिले निर्वाचनबाट आएको कम्युनिस्ट पार्टी कसरी अघि बढ्छ सोही अनुसार रणनीति बनाउने बताउँछन् । ‘अहिले हामी ‘वेट एण्ड सी’ कै अवस्थामा हो’, उनले भने ।  सांसद भीसेनदास प्रधानका अनुसार प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई असंवैधानिक भनिसकेपछि उनको नेतृत्वमा सरकारमा सहभागी हुनु गलत भएको सबैजसो सांसदले बताए । 
‘राजनीतिक रूपमा वा ‘मोरल्ली’ पनि हामीले ओलीलाई समर्थन गर्न मिल्दैन’, प्रधानले भने । सांसद केसीले कम्युनिस्टहरू आफ्नै कारणले विभाजित भएको र मुलुकलाई अप्ठरो अवस्थामा पु¥याएका बेला कांग्रेसले होसियारीपूर्वक निर्णय गर्नुपर्ने बताए । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा खुशी व्यक्त गर्दै बैठकले यसलाई संविधानको जीत भएको ठहर गरेको छ । 
बैठकमा २९ जना सांसदले आआफ्नो धारणा राखेका थिए । बैठकपछि दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभामा पेश हुन सक्ने अविश्वास प्रस्तावको विषयमा उचित समयमा सोही अनुसार निर्णय लिने बताए ।
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार