गठबन्धनमा जाने विषयमा निर्णय भएको छैन : गगन थापा 

आइतबार, फागुन २९, २०७८

वीरेन्द्रनगर, २९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए । प्रेस युनियन सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो । यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।”     
उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, “त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’’ 
उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ । 
महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरुको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले जानकारी गराए । महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो । 

'गठबन्धनको निर्णय पार्टीले लिन्छ' 
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय लिने बताएका छन् ।  निर्वाचन लक्षित पार्टीको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ को आज काभ्रेपलाञ्चोकको बनेपामा शुभारम्भ गर्दै उनले स्थानीय नेता कार्यकर्तालाई गठबन्धनबारे चिन्ता नगर्न आग्रह गरका हुन् । “गठबन्धनबारे तपाईँहरू चिन्ता नगर्नुस् यसको चिन्ता पार्टीले लिन्छ, तपाईँहरू बढीभन्दा बढी मतदातालाई नेपाली कांग्रेससँग जोड्ने मात्रै सोच्नुस्”, पूर्वमन्त्रीसमेत रहेका महतले भने। 
उनले पार्टी ‘एक्लै जिन्छ भने एक्लै लड्ने, हैन भने गठबन्धन हुने बताए । उनले भने, “गठबन्धनको निक्र्योल जिल्ला जिल्लाबाट आएको सुझावसमेतका आधारमा केन्द्रीय समितिले लिन्छ, यसबारे निर्णय नहुन्जेलसम्म बहस चलाउनुपर्ने आवश्यकता छैन, त्यतिबेलासम्म धैर्यता गर्नुहोस् ।”  प्रवक्ता महतले हरेका स्थानीय तहको स्थिति फरकफरक रहेकाले सोही विश्लेषणका आधारमा गठबन्धन हुने दोहो¥याए । “हरेक पार्टीको लक्ष्य निर्वाचनमा बढी जित्ने हुन्छ, हामी सोहीअनुसार लाग्नुपर्छ, हाम्रो लक्ष्य पनि त्यही हो”, उनले भने । उनले पार्टीको निर्माण आमनिर्वाचन जित्नका हुने भएकाले पार्टीलाई क्लबका रूपमा रुपान्तरण गर्ने चाहना कसैको नहुने बताए । 
पार्टीलाई सत्तामा पु¥याइ जनताको सेवा गर्ने, देशको साधान स्रोत र बजेटको भरपुर सदुपयोग गरी देशलाई उन्नतितर्फ उन्मुख गर्ने सबैको चाहना हुने प्रवक्ता महतको धारणा थियो । 
उनले भने, “केन्द्रको निर्देशनअनसार चुनावी अभियानमा मतदाताको घरघरमा पुग्नुहोला, भेटका बेला एमसिसीको फाइदाबारे सकारात्मक रुपमा पनि बुझाउन नबिर्सनुहोला ।” उनले नेपाली कांग्रेस र अन्य पार्टी धेरै अध्ययनपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी० बारे सहमतिमा पुगेको उल्लेख गरे । 
पार्टीको जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्रका सभापति, स्थानीय तहका सभापति तथा वडा सभापतिको उपस्थिति रहेको थियो । सो अवसरमा जिल्लादेखि वडागत तहसम्म निर्वाचनसम्बन्धी कार्य विभाजनको जिम्मेवारी दिइएको थियो । 

एमसिसी सम्झौता नेपालको हितमा’
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० सम्झौता नेपालको हितमा रहेको दाबी गरेका छन् । कांग्रेस सुनसरीले आज सुनसरी सदरमुकाम इनरुवामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान कार्यक्रममा पूर्वमन्त्री समेत रहेका विश्वकर्माले विभिन्न राजनीतिक दलले एमसिसीको विषयमा फैलाएको भ्रममा कुनै किसिमको सत्यता नभएको उहाँले बताए । एमसिसी परियोजना केवल विकास परियोजना मात्र भएको र उक्त परियोजनाले नेपालको विकासमा कोसेढुङ्गा सावित हुने पूर्वमन्त्री विश्वकर्माको तर्क छ । एमसिसीअन्तर्गत नेपालमा सडक पूर्वाधार, विद्युत् विस्तारलगायत काममा सहयोग पुग्ने उहाँले बताए। यसैबीच नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एकमहिने चुनावी अभियान सुरु गरेको छ । 
केन्द्रीय निर्देशन तथा परिपत्रअनुसार कांग्रेस सुनसरीले निर्वाचनलाई लक्षित गरेर एक महिने चुनावी अभियान आजदेखि सुरु गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धिलगायत विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव लिने कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले बताए । 

कांग्रेसले मात्र देशको विकास गर्छ : नेता रायमाझी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले नागरिकको स्वतन्त्रता, सुरक्षा र वैयक्तिक विकासको सुनिश्चिता कांग्रेसले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ । आजदेखि कांग्रेसले सुरु गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ घरदैलो राष्ट्रिय अभियानअन्तर्गत दमकमा आयोजना गरिएको क्षेत्रीयस्तरको अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै उनले मुलुकको हरेक विषम परिस्थितिमा नेतृत्व गरेर समस्या समाधान गर्न सक्ने क्षमता कांग्रेससँग मात्रै भएको दाबी गरे । कांग्रेस हार्दा मुलुक नै हार्ने रहेछ भन्ने कुरा जनतालाई सत्यतथ्य बुझाउन नसकिएको भन्दै उनले भने, “यस अभियानले पार्टीका कार्यकर्तामार्फत अब जनताले सुसूचित हुने पाउनेछन् ।”
कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेवेले यो अभिमुखीकरण कार्यक्रमले नेतृत्वलाई जवाफदेहीता र जिम्मेवारीवोध गराउने बताए । निकट भविष्यमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी अभियान सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । कांग्रेस दमक नगरसमितिको कार्यालयमा आयोजना गरिएको उक्त अभिमुखीकरणमा अधिवक्ता अमृत बुढाथोकी, रमेश दाहाललगायत सहजीकरण गर्नुभएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए। अभिमुखीकरणमा कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, पूर्वआमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलगायत नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार