सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटाएसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पु¥याएर उनीहरुलाई छाड्न थालिएको हो । ‘अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा रहेकाका हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पु¥याएर छाडिने छ’, केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भने । कति जनालाई आज रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पु¥याएर रिहाइको क्रम भने शुरु भइसकेको जनाइएको छ । प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ताविरुद्ध अनुसन्धान चलिरहेको छ । विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करीब एक हजार ८४० मुद्दा दर्तापछि छुटेका थिए । सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो । सहमतिको विस्तृत विवरण आज अपराह्न विशेष समारोहबीच सार्वजनिक गरिँदै छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र समूहका महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।
काभ्रेबाट रिहा भए बाँस्तोला नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज यहाँबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । करिब दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहेका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामु बिहान १०ः०० बजे सार्वजनिक गरेका हुन् । पार्टीका सचिवालय सदस्यसमेत रहेका बाँस्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो । रिहाइ गरेपछि बाँस्तोलाका शुभेच्छुकले ‘वैज्ञानिक समाजवाद जिन्दावाद, वीर शहीद लालसलाम’ जस्ता विभिन्न नाराबाजी गरेका थिए । बाँस्तोलाले सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले राजनीतिक तवरले देशका समस्या समाधान गरौँ भन्ने विषय न्यायको सम्मान भएको उल्लेख गर्दै देशको समस्या समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता जनाए । ‘देशको समस्या समाधान गर्न हामी अगाडि बढ्छौँ र सफल पनि हुनेछौैं’ उनले भने । बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौँ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौँ लगिएको हो । सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गर्दै सो पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ ।