स्थानीय तहको भूमिका जवाफदेहीपूर्ण हुनुपर्छ : प्रधानमन्त्री 

गोदावरी नगरपालिका सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवनमा  
शुक्रबार, फागुन २७, २०७८

काठमाडौँ, २७ फागुन । ललितपुरको गोदावरी नगरपालिका शुक्रबारदेखि सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवनमा सरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपराह्न नगरपालिकाको प्रशासनिक भवनको एक भव्य समारोहकाबीच समुद्घाटन गरे । नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन तथा छैटौँ स्थापना दिवस समारोहका प्रमुखअतिथि प्रधानमन्त्री देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्नेमा जाेग दिए ।  
आफू नेतृत्वका सरकारका दुईमन्त्री, नगरपालिका तथा प्रदेश तथा स‌घीय सा‌‌सदलाई साक्षी राखेर प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गराए । 
प्रधानमन्त्री देउवाले भने, 'नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ ।' 
उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले विना कुनै मरमोलाहिजा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गरे । 
नगरभित्र जनताको सुख सुविधाका लागि भौतिक पूर्वाधारको निर्माणदेखि नगरवासीलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा समयमै गुणस्तरीय ढङ्गले उपलब्ध गराउन नगरपालिकाले सक्दो पहल गरेको आफूले जानकारी पाएको उनले बताए । 
प्रधानमन्त्री देउवाले नगरपालिकाले गरेका विकास निर्माणका काम र सेवा प्रवाहमा गरेको सुधारका विषय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै भने, 'जनप्रतिनिधिले जनसवालका काम गरेर मात्र हुँदैन, काममा पारदर्शिता गुणस्तरीयता र जवाफदेहिता सुनिश्चितसमेत गर्न अत्यन्तै आवश्यक छ । त्यसैगरी गरेका कामको जानकारी नागरिकसम्म पु¥याउनु अत्यावश्यक छ । त्यसका लागि गोदावरी नगरपालिकाले  ‘गोदावरी’ नामको पत्रिका प्रकाशित गरेकोमा समेत बधाई दिन चाहन्छु ।'
अहिले हामी लामो समयको राजनीतिक सङ्क्रमण पार गरेर लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामार्फत देशलाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरण  र समतामूलक समाज निर्माणको यात्रामा रहेको बताउँदै उनले यो यात्रा छिट्टै पुरा गरेर गन्तव्यमा पुग्न ढिलो गर्नु नहुने उल्लेख गरे ।  प्रधानमन्त्री देउवाले देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेको र अबको निर्वाचनमा आफ्नो मत प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्दा विगतमा  भएका काम र जनताको हितमा गरेका कार्य नै जनप्रतिनिधि छनौटको मुख्य आधार हुने निश्चित हुनुपर्नेमा जोड दिए ।
कोराना महामारीको सङ्क्रमण फैलिएको बेला आफू र आफ्नो परिवारको स्वास्थ्यको कुनै पर्वाह नगरी अग्रमोर्चामा खटिएका गोदावरीका जनप्रतिनिधिको उच्च प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्न सक्नु र विकास निर्माण तथा सेवा प्रवाहमा सबैलाई विना भेदभाव समान पहुँच स्थापित गर्नसक्नु कुशल नेतृत्वको गुण हो भने । 
उनले उपत्यकाको चार बाराहीमध्ये बज्रबाराही मन्दिर गोदावरी नगरपालिकाको भवन अगाडी रहेको तथा गोदावरी नगरपालिका पर्यटकीय तथा सांस्कृतिक धरोहर रहेको पनि उल्लेख  गरे । उनले नगरपालिकाले छोटो समयमा  धेरै विकासका पूर्वधार, शिक्षा, स्वास्थ्य ,खानेपानीलगायतका क्षेत्रमा जनमुखी कार्य गरेको भन्दै गोदावरीका जनप्रतिनिधलाई धन्यवाद दिएका छन् । 
प्रधानमन्त्री देउवाले  स्थानीय सरकारले विकास  निर्माण गर्ने मात्र नभई पारदर्शी तथा जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले भने, नगरपालिकाले मैले थाहा पाए सम्म जनतलााई केन्द्र विन्दुमा राखेर काम गरेको छ । 
भवन उद्घाटन समारोहमा ऊर्जामन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थ, खाद्यान्नकाे मूल्यबृद्धि भइरहेको उल्लेख गर्दै सरकारका निकायहरु नियन्त्रणमा लागिरहेको बताइन् । 
ऊर्जामन्त्री भुसालले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर ललितपुरको विकास अगाडी बढाएको बताइन् । उनले स्थानीय चुनाव आउन दुई महिना मात्र बाँकी रहेको स्मरण गराउँदै भनिन्, 'गठबन्धन सरकारले धाँधलीरहित स्थानीय निर्वाचन सम्पन्न गर्नेछ ।'  
ललितपुर क्षेत्र १ का संघीय संसद् नवराज सिलवालले ललितपुर जिल्ला क्षेत्र न. १ उपत्यकाको वत्तिमुनीको अध्यारो जस्तो भएकाले बजेट बिनियोजनमा सरकारले यो क्षेत्रलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए । 
वर्तमान सरकारले रातो किताबमा लेखिएका २० वटा योजनाका बजेट कटौती गरेकोप्रति प्रधानमन्त्रीको ध्यानार्कषण गराए ।  उनले पेट्रोलियम पर्दाथमा भएको मूल्यबृद्धि नियन्त्रण गर्न सरकारलाई सुझाव दिए । 
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनले गोदावरी नगरपालिकाले विकासका जति नै काम गरेपनि सातदोबाटो-चापागाउँ बाटोमा देखिएका समस्या समाधान नहुँदासम्म गोदावरीको विकासको नदेखिने बताए । यो बाटोको मुआब्जासम्बन्धी विषयलाई चाँडै सम्बोधन गरी बाटो चौडा गर्न पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । भौगालिक हिसाबले ठूलो तर स्थापनाका हिसाबले कान्छो नगर भएकाले अन्य नगरपालिका सरह गोदावरीलाई बजेट विनियोजन गरिँदा काम गर्न समस्या भएको नगर प्रधानमन्त्री देउवालाई प्रमुख महर्जनले अवगत गराए ।   
समारोहमा वडाअध्यक्ष, कर्मचारी, कार्यपालिका सदस्यलगायत नगरमा योगदान पु्याउने व्यक्तिलाई सम्मान गरिएको थियो । स्थानीयले विभिन्न खालमा झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । सो समारोहमा गोदावरी नगरपालिकाको पत्रिका पनि लोकार्पण गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार