सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले प्रहरी हिरासतमा रहेका नेता–कार्यकर्तालाई छाड्न सर्कुलर गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’ मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका नेता धमेन्द्र बास्तोलालाई आज रिहा गर्ने तयारी छ । २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् । गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तामाथि लगाएको मुद्दाको पूर्ण विवरण सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।