सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन् । अफगानिस्तानमा सन् २०२१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २,५०० जनामा झारिने अधिकारीहरूले बताएका छन् । त्यस्तै इराकमा ५०० सैनिक कटौती गरेर २,५०० मात्र राखिने बताइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको बताएका थिए ।
समय सैनिक फिर्ता ल्याउने काम जनवरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन् । त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो । राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन् । उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन् । एपी समाचार संस्थाले उदृत गरेका अधिकारीका अनुसार सैन्य नेतृत्वलाई सप्ताहान्तमा सेना फिर्ता गर्ने योजनाबारे बताइएको थियो । उनीहरूले एउटा कार्यकारी आदेश तयार पारिएको बताएका छन् ।
यसअघि कति फिर्ता भए ? सेप्टेम्बरमा पेन्टागनले इराकबाट एक साताभित्र एक तिहाइभन्दा बढी सेनालाई फिर्ता ल्याउनुपर्ने बताएको थियो । त्यसबेला उसले ५,२०० सैनिक संख्यालाई घटाएर ३,००० बनाएको थियो । त्यसबेला मध्यपूर्वका लागि उच्च अमेरिकी कमाण्डर जनरल केनेथ म्याकेन्जीले जिहादी समूह इस्लामिक स्टेटको बाँकी रहेको अवशेष अन्त्य गर्न इराकमा रहेका अमेरिकी सेनाले इराकी सुरक्षा बललाई सल्लाह दिन र सहयोग गर्न जारी राख्ने बताएका थिए । अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेको थियो र राष्ट्रपति सद्दाम हुसेनलाई हटाएको थियो । उक्त सेनाले आम नरसंहारकारी हतियार नष्ट गरेको बताइएको थियो तर पछि त्यस्तो हतियार अस्तित्वमा नरहेको खुलासा भएको थियो ।
अफगानिस्तानमा फौज अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज रहेको छ । सन् २००१ सेप्टेम्बर ११ मा अल–कायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्त्य गरिदिएको थियो । त्यसबेला अफगानिस्तान अल–कायदाको आधार क्षेत्र रहेको थियो । तालिबान पुनः संगठित भयो र सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहेको छ । अमेरिकाले यसै वर्षको सुरुदेखि तालिबानसँगको शान्ति सम्झौता अनुसार आफ्ना सेना फिर्ता गर्न थालेको थियो । बीबीसी