गठबन्धनसँग तालमेलका लागि माओवादीले कार्यदल बनाउने

अर्को केन्द्रीय समिति बैठक जेठ २० मा, यी नेता भए प्रदेश इन्चार्ज
सोमबार, फागुन २३, २०७८

काठमाडौं, २३ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने भएको छ । 

सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो । 

‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता वर्षमान पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ ।’ 

उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए  । माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा विमति देखिएको छ । 

अर्को केन्द्रीय समिति बैठक जेठ २० मा

नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ । गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ।

अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताएका थिए ।

को-को तोकिए माओवादीका प्रदेश इन्चार्जहरु ?

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । 

लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ ।  त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार