सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शीर्षस्थ नेताबीच मनमुटाव देखिँदा अथवा उनीहरू दूरी बढ्दा सत्तारूढ दलका कतिपय नेताले त्यसलाई मेटाउन भूमिका निर्वाह गर्ने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्तिबीच अहिले विवाद उत्कर्षतर्फ बढिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । कतिपयले नेकपा ‘फुटको दिशातर्फ’ नै बढिसकेको दाबी गरिरहेका छन् भने कतिपयले विगतमा जस्तै नेताहरूबीच ढिलोचाँडो ‘कुरा मिल्ने’ बताइरहेका छन् । तर विगतमा मध्यमार्गी भूमिकामा देखिएका नेकपाका कतिपय नेता चाहिँ यस पटक खासै आशावादी नदेखिएको उनीहरूको अभिव्यक्तिबाट भान हुन्छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पत्रमार्फत् एकअर्कामाथि आरोप लगाएपछि नेकपाभित्रको तनाव छताछुल्ल भएको छ ।
‘फुटतिर अग्रसर’ नेकपाका एक मध्यमार्गी नेता हरिबोल गजुरेल आफूहरू पार्टीलाई फुटबाट जोगाउन लागिपरेको बताउँछन् । ‘दुर्घटनातिरै बढिरहेको छ । हामीलाई बडा दुःख पनि लागिरहेको छ कि हामीले बुझिरहेका कुरा नेताले किन बुझिरहेका छैनन्’ उनले भने,‘सामान्य जनताले बुझ्ने कुरा उहाँहरूले किन नबुझेको होला’ उनले भने । आमजनता र कार्यकर्ता कोही पनि फुटको पक्षमा नरहेको तर्क गर्दै गजुरेलले थपे, ‘तर नेताहरूका गतिविधि फुटतिरै अग्रसर छन् ।’सत्तारूढ नेकपा फुटेमा त्यसको अरू दलमा पनि पर्ने र देशमा फेरि राजनीतिक अस्थिरता शुरू हुने उनको आकलन छ । अर्का नेता सुवास नेम्वाङ नेकपाभित्र देखिएको पछिल्लो तनावबारे खासै खुल्न चाहेनन् । आफू पछिल्लो कुनै औपचारिक छलफलमा सहभागी नभएको बताउँदै उनले भने, ‘आपसमा छलफल गरी दुई नेता –अध्यक्षद्वय) सहमतिमा पुग्नुपर्छ भन्नेमै छु म ।’
बैठकबारे आशङका त्यो दिशामा तपाईँहरूले के गरिरहनुभएको छ भन्ने जिज्ञासामा नेम्वाङले भने, ‘हामीले प्रयास गरिरहेका छौँ ।’ नेता सुरेन्द्र पाण्डेले पनि पछिल्लो समय आफूहरूको प्रयास खासै प्रभावकारी हुन नसकेको संकेत गरे । ‘त्यस्तो विशेष हुन सकेको छैन । तिहारअघि कार्यदलका सदस्यमध्ये हामी चारजना भीम रावल, विष्णु पौडेल, शंकर पोखरेल र म मात्रै भेट्न सक्यौँ’ उनले भने । ‘पछि जनार्दन शर्मो जी र पम्फा भुसाले जीले कुराकानी गरेर समयको खेर मात्र हुन्छ भन्ने आशयको कुरा गरेको विष्णु पौडेले जीले मलाई सुनाउनुभयो’ उनले भने । सचिवालय बैठक तोकिएको भएर पनि आफूहरू बीचको कुराकानी आवश्यक नदेखिएको हुनसक्ने पाण्डेको ठम्याइ छ । नेकपाले बुधवार सचिवालय बैठक डाकेको छ । बैठक बस्नेबारे नै धेरैले आशंका व्यक्त गरिरहँदा उनले सहमतिमै बोलाइएकोले बैठक बस्ने विश्वास व्यक्त गरे ।