रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

सोमबार, फागुन २३, २०७८
Global Ime Bank

मस्को, २३ फागुन । रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् ।  युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए । 
आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिबारका चार जना मारिएका थिए । उनीहरु युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए । 

त्यस्तै मारिओपोल सहरमा सामूहिक उद्दार कार्य स्थगित भएको छ ।  मारिओपोल सहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ । त्यहाँ उर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ । रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ । तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरुमाथि हमला भइरहेका बताएको छ । रुसी सेनाले घनाबस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ ।  आइतबार राष्ट्रसंघको अनुगमनकर्ताहरुका अनुसार रुसी सेनाले २४ फेब्रुवरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रसंघीय मानव अधिकार आयोग युएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छोडेका छन् ।  तर, रुसले सर्बसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ । आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रबादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ । 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार