अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता

आइतबार, फागुन २२, २०७८
Global Ime Bank

बेइजिङ, २२ फागुन ।  चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।
उनीहरुबीच शनिबार भएको फोनवार्तामा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको थियो । 
उनीहरुबीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको थियो । त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।    
युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ । यससम्बन्धी धारणा ब्लिेन्केनले चिनियाँ विदेशमन्त्री समक्षा राखेका थिए । उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताएका थिए । 
युक्रेनमा रुसले गएको एक हप्तभन्दा लामो समयदेखि हमला गरिरहेको छ । युक्रेन र रुसबीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने भएको बताइएको छ ।

कसैलाई उक्साउनु गलत हुने चीनको भनाइ 

चीनले रुस र युक्रेन युद्धलाई धेरै नभड्काउन युरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको टेलिफोन वार्ताका क्रममा युद्धले युक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताए । 
चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरू रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पार्नुभएको छ । रुसको निकट सहयोगीका रूपमा रहँदै आएको चीनले युक्रेनमाथि रुसी आक्रमणबारे औपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन । 
चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसङ्घमा युक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए । चीन युरोपमा युद्धको पक्षमा नरहेको भए पनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।
चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गरेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार