सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो। सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा एक करोड रुपैयाँ बराबरको क्षति भएको आङ्देम्बेले बताए । आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए । यसैबीच आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ । यसअघि अहिले बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मूख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए ।
‘आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन’ ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’ यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो, बागलुङ गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन् । ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन निभाउनुप¥यो’ उनले आगो निभाउनका लागि अनुरोध गर्दैगर्दा न त उनीहरूसँग पूर्वतयारी थियो न सामग्री नै । त्यो दिन गलकोटका तीन सामुदायिक वनमा आगलागी भयो । आगलागीका कारण झण्डै १०० हेक्टर क्षेत्रफलमा फैलिएका सामुदायिक वनको ६० हेक्टर क्षेत्रफलमा रहेका बुट्यान डढेलोका कारण जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक डिभिजन वन कार्यालयसँग छ । वनमा लागेको आगो बस्ती नजिकै फैलिन थालेपछि चिन्तामा रहेका स्थानीयवासी र प्रहरीको सक्रियतामा १८ घण्टापछि नियन्त्रणमा आएको थियो । पूर्वतयारीबिनै आगो नियन्त्रणका लागि स्थानीय खटिएका थिए । रातभरि अग्निरेखा काटेपछि बल्ल आगो नियन्त्रणमा आयो । भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो । आगलागीको कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले बताए । उता वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको वन उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापाले जानकारी दिए । गलकोटमा लागेको सात दिनपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको माझकटेरी सामुदायिक वनमा भीषण आगलागी भयो । वनमा लागेको आगो बस्ती नजिक आउन थालेपछि स्थानीयवासी नियन्त्रणका लागि कस्सिएका थिए । आगोले १०० हेक्टर जमिनमा रहेका बुट्यान मासेपछि मात्रै नियन्त्रणमा आयो । स्थानीयवासीले अग्निरेखा बनाएरै आगो नियन्त्रणमा लिएको सोही गाउँका बाबुराम भण्डारी जिकिर गर्छन् । आगलागीले मासेको वन क्षेत्रको प्रारम्भिक तथ्यांकमात्रै डिभिजन वन कार्यालयमा आएको छ । धम्जाको आगो निभाउनका लागि सदरमुकाममा रहेको विपत् व्यवस्थापन गुल्म पुग्नुपरेको थियो । भौगोलिक हिसाबले ढाटा रहेको गुल्मको तालिमप्राप्त समूह पुग्ने बेलासम्म आगो धेरै फैलिइसकेको थियो । यही फागुन १८ गते जैमिनी र बागलुङ नगरपालिकाको सीमा क्षेत्रको वनमा आगलागी भयो । जैमिनी–१ का तारेभिर, लजुकेनी अर्खलापाटा सामुदायिक वन क्षेत्र नजिकैबाट फैलिएको आगो बागलुङ नगरपालिका–१२ अमलाचौरको निजी वन क्षेत्रमा समेत फैलियो । त्यहाँको आगो नियन्त्रणका लागि समेत अग्निरेखा महत्वपूर्ण सावित भयो । यी गर्मीयाम शुरु हुनैलाग्दा बागलुङमा भएका आगलागीका प्रतिनिधि घटना मात्रै हुन् । यस मौसममा बागलुङमा हरेक वर्ष हजारौँ हेक्टर जमिनमा आगलागी हुने गरेको छ । ‘विपद् व्यवस्थापन कोष छ, प्रकोपसँगका सबै समस्यासँग जुध्ने त्यहीँबाट हो’, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा भन्छन्, ‘आगलागी नियन्त्रणका लागि छुट्टै योजना छैन ।’ यहाँका वनक्षेत्र अधिकांश बस्तीको नजिकै पर्छन् । वनमा लागेको आगो समयमा नियन्त्रण नहुँदा बस्तीमा ठूलो क्षति हुने सम्भावना रहने बागलुङ–१२ का स्थानीयवासी हरि पौडेल बताउँछन् । वनसँग सम्बन्धित काम गर्ने कार्यालय अन्य काममा अल्मलिने र स्थानीय तहको चासो कम हुँदा वन हुँदै बस्ती पस्ने आगलागीका कारण ठूलो क्षतिको सम्भावना छ । ‘हामी उद्यममा अल्झिएका छौँ, प्रदेश मातहत चल्ने भएपछि वनभन्दा अन्य कामको लोड कार्यालयमा छ’, डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले भने, ‘स्थानीय तह र हामीबीच वनको अधिकार क्षेत्रका विषयमा रहेको विमतिले पनि समस्या पैदा भइरहेका छन् ।’ कार्यालय सामुदायिक वनका लागि डढेलो नियन्त्रणका लागि सामग्री उपलब्ध गराउने तयारीमा छ । कार्यालयले दिने सामग्रीको प्रयोग विधि तथा ज्ञानको अभाव र भूगोलका कारण स्थानीयवासीलाई आगो नियन्त्रणमा समस्या हुने गरेको छ । बागलुङमा ५२६ सामुदायिक वन छन् । बत्तीस हजार ९८६ हेक्टरमा फैलिएको वन क्षेत्रमा मुख्य गरी १० प्रकारका वन्यजन्तु र सात प्रकारका पक्षी पाइने गरेको तथ्यांक वन कार्यालयसँग छ ।–रासस