रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता भोलि 

आइतबार, फागुन २२, २०७८
Global Ime Bank

मस्को, २२ फागुन । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको वार्ता सोमबार यी दुई देशबीचमा अर्काे चरणको शान्ति वार्ता हुने भएको छ । यस अघि पनि दुई देशबीचमा वार्ता भएको थियो । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।
यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीले जनाएका छन् । तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिए । उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसबीचमा अर्काे अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 
युक्रेनका अधिकारीले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारी दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन् ।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो ।
उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ । युक्रेनी राजधानी किभमा भने खतराको जनाउ दिने साइरन अहिले पनि बजेका बताइएको छ । त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ ।
गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ । यसैले पनि रुस वार्ताका लागि तयार भएको विभिन्न विश्व समुदायले जनाएको छ ।

रूसमा पनि युक्रेनविरूद्धको रूसी आक्रमणको विरोध, एक हजार १०० बढी रूसी नागरिक पक्राउ 

युक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो ।
विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरणको निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समयअनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ सहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ ।  सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोबोसिबिस्र्क सहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो ।  दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो सहर मस्को र सेन्ट पिटर्सबर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो । 
रूसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो । 
रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो । बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा युक्रेनबारे रूसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १०,००० जना प्रदर्शनकारीहरू भेला भई पुटिनको कदमको विरोध गरेका थिए । 
सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । पुटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की 

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् । उनले भने, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटले आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।” रूसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै सहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् । भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।
विमानस्थलमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहो¥याएका छन् । 
“हामी हरेक दिन दोहो¥याइरहेका छौँ । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र युक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस्”  उनले भने । 
उनले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौँ युक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताए ।

युक्रेनद्वारा मरिउपोलबाट सर्वसाधारणलाई उद्धार गर्न सुरू

युक्रेनले आइतबार डोनेट्स्कको बन्दरगाह सहर मरिउपोलबाट नागरिकहरूलाई उद्धार गर्न सुरू गरेको छ ।
“उद्धार कार्य स्थानीय समयअनुसार मध्याह्नबाट सुरु हुनेछ,” डोनेट्स्क क्षेत्रीय सैन्य प्रशासन प्रमुख पाभ्लो क्रियालेन्कोले बताए ।  युक्रेनी समाचार संस्था, युनियानले बताएअनुसार नागरिकहरूलाई उद्धार गर्न बसहरू मरिउपोलतिर आइतबार मध्याह्न पहिले नै त्यहाँ पुगिसकेका छन् । यसअघि, रूसी सेनाहरूले युक्रेनका केही भागहरूमा १० बजेदेखि मानवीय उद्धारका लागि निर्धारण गरेको मार्गबाट उद्धार सुरू गरिसकेको छ । 
बिहीबारको दोस्रो चरणको शान्ति वार्ताको दौडानमा रूसी र युक्रेनी वार्ता टोली नागरिकहरूलाई युद्ध क्षेत्रबाट बाहिर निस्कन मार्गहरू स्थापना गर्न र उद्धार मार्गमा केही समयको लागि आक्रमण रोक्न सहमत भएका थिए । –रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार