सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले सरकार र चन्द माओवादी पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्दै भने, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।’ फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट पारे । उनले भने, ‘हाम्रो उपस्थिति विना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।’ सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उहाँले स्पष्ट पारे । नेकपा विधिवत रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा.महतको भनाइ थियो ।
कांग्रेसलेसरकार चलाउन सहयोग गर्न सक्छ : वरिष्ठ नेता पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपा दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए । वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।’ प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उनले प्रधानमन्त्री हुनबाट उनलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताए । उनले भने, ‘अहिलेको स्थिति नाजुक छ, संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।’ पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उनले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अबस्था देखिएको बताए । उनले भने, ‘सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाैं ।’ अहिलेको ‘भद्रगोल राजनीति’ कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै उनले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताए ।–रासस