चितवन कांग्रेसको सभापतिमा संस्थापन इतरका राजेश्वर खनाल सर्वसम्मत

शनिबार, फागुन २१, २०७८

चितवन, २१ फागुन : नेपाली कांग्रेस चितवनको सभापतिमा संस्थापन इतरका राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन् । १४औँ जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान हुनुअघि नै खनाल सर्वसम्मत सभापति चयन भएका हुन् ।

दोस्रो चरणको मतदानमा खनाललाई सभापतिका अर्का उम्मेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए । त्यसपछि बाँकी उम्मेदवार मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाले पनि सभापतिमा खनाललाई नै समर्थन गरेको जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो । पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६, मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।

मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार संस्थापन इतरका हुन् ।

सभापतिमा खनाल सर्वसम्मत भएपछि बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समिति संयोजक अधिकारीले बताए ।

कांग्रेस नवलपुर सभापतिमा जिसी  

नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत् निर्वाचित भएका हुन् ।  जिल्ला सभापतिको उम्मेदवार दाबी गरेका बालकृष्ण घिमिरेले उपसभापतिमा मनोनयन दर्ता गरेपछि जिसी सर्वसम्मत् सभापतिमा निर्वाचित भएका हुन् । केन्द्रीय नेताहरुले जिल्ला सभापति सर्वसम्मत् बनाउन गरेको प्रयास सार्थक भएसँगै शुक्रबार राति मनोनयन सकिनु केही बेर अघि सभापतिका दाबेदार घिमिरेले उपसभापतिमा उम्मेदवारी दिएपछि जिसी सर्वसम्मत् भएका  हुन्  । 
जिसी सर्वसम्मत् सभापति भएको आधिकारिक घोषणा भने निर्वाचन समितिले गर्न बाँकी छ । नेपाली कांग्रेसमा विगत ४२ वर्षदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन भएका हुन् । 
उनी विसं ३०३६ सालपछि दुई पटक तत्कालीन जिल्ला पञ्चायतका सभापति र दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसको छन् । कांग्रेस निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश अधिकारीले सभापतिका प्रत्यासी बालकृष्ण घिमिरेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको पुष्टि गरे । कांग्रेसको जिल्ला समितिसँगै महासमिति सदस्यका लागि भने आज मतदान हुँदैछ । जिल्लामा कूल एक हजार ९७२ मतदाता रहेका निर्वाचन समिति संयोजक अधिकारीले बताए 
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार