स्थानीय तहले आवश्यकताअनुसार गठबन्धन गर्न सक्ने कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाई 

शनिबार, फागुन २१, २०७८

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताएका छन् । पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति सभाका अवसरमा शुक्रबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले भने, “केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ ।” नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिए । आगामी निर्वाचनमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डालाई अगाडि सार्नुपर्ने उनको भनाइ थियो । “स्थानीय तहले विकासलाई गाउँगाउँमा लगेका छन्, विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ, यसलाई कांग्रेसले रोक्नुपर्छ”, उनले भने । 

सन्त नेता किशुनजीको सम्झनामा दीप प्रज्वलन

सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति दिवसका अवसरमा किशुनजी अध्ययन केन्द्रको आयोजनामा आज साँझ नयाँ बानेश्वरमा दीप प्रज्वलन गरिएको हो । 
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गर्नुभएको त्याग र सङ्घर्षलाई आमजनतासम्म लैजानुपर्ने बताए । “किशुनजीको त्याग र आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”,  उनले भने, किशुनजीमा सरलतायुक्त सादगी जीवन, संस्कार, सिद्धान्त, निष्ठा, समन्वय क्षमता र समृद्धिको संकल्प हो । 
केन्द्रका अध्यक्ष अविनाश सिलवालले किशुनजीको राजनीतिक जीवनबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताउनुभयो । विसं २०७३ मा स्थापना भएको अध्ययन केन्द्रले किशुनजीका बारेमा अध्ययन अनुसान्धान गर्नुका साथै नयाँ बानेश्वरमा किशुनजी पार्क र किशुनजीको सालिक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार