ह्वीलचियर प्रयोगकर्ताले ललितपुरका मेयर चिरीबाबुलाई भने, ‘नेपालभित्र ह्वीलचियर बनाउन पहल गरिदिनुस्’

ह्वीलचियर प्रयोगकर्ताको कुरा सुन्दै महानगर प्रमुख
शनिबार, फागुन २१, २०७८

ललितपुर, २१ फागुन । मेनिन्जाइटिसले थलिएर उत्रिँदा इन्दुका खड्काको कम्मर मुनिको भाग चलेन । त्यसपछि उनी ह्वीलचियर प्रयोगकर्ता भइन् । नौ वर्षअघि बिरामी परेकी उनी केही वर्ष घरबाटै निस्किनन् । स्वाबलम्बन जीवन पद्धति केन्द्रको सम्पर्कमा आएपछि उनी घरबाट बाहिर निस्कन सुरु गरिन् । आफ्ना कुरा निर्धक्क भन्न सक्ने भइन् । यसै क्रममा आफू र आफू जस्तै साथीको कुरा भन्न इन्दुका शुक्रबार ललितपुर महानगरको प्राङ्गणमा आएकी थिइन् । 
ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरसँग सहकार्य गरेर १४ औं अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस र ११२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा ह्वीलचियर प्रयोगकर्ता महिलासँग अन्तरसम्वाद कार्यक्रम गरेको थियो । उनले अपाङ्गता भएकाको लागि स्वास्थ्य सामग्रीको व्यवस्था गर्न अनुरोध गरिन् । 
ललितपुर नागबहालकी सिर्जना बज्राचार्य अपाङगता भएका परिवारको सदस्यलाई परामर्श आवश्यक भएको बताइन् । उनले भनिन्, ‘सरसफाई र खानपिनको विषयमा परामर्श आवश्यक छ, त्यो परामर्शले हामीलाई सहयोग पुग्छ ।’ 
अपाङ्गताको विषयमा काम गर्ने संघसंस्थालाई पनि तालिम आवश्यक भएको उनले बताइन् । ४ वर्षदेखि सिर्जनाले ह्वीलचियर प्रयोग गर्दै आएकी छन् । अपाङ्गता भएकालाई आत्मविश्वास आवश्यक भएको उनको अनुभव छ । 
प्रकृति भट्टराई सरकारी कार्यालयकी कर्मचारी हुन् । उनको कार्यालयमा भएको शौचालय फोहोर हुँदा उनी दिनभर शौचालय जान्नन् । उनले भनिन्, ‘अत्यावश्यक भए मात्रै शौचालय जान्छु ।’ सबैका लागि शौचालय सफा हुनुपर्छ । रोगबाट संक्रमित छिटो हुने भएकाले अपाङ्गता भएकालाई सरसफाई अत्यावश्यक हुने उनको भनाई थियो । ह्वीलचियर प्रयोगकर्ता प्रकृति अपाङ्गता भएकाको परिवारलाई परामर्श आवश्यक भएको बताउँछिन् अर्का ह्वीलचियर प्रयोगकर्ता भरत विसीले नेपालमा नै ह्वीलचियर गर्ने कारखाना स्थापनाका लागि ललितपुर महानगरलाई नेतृत्व लिन अनुरोध गरे । 
उनले भने, ‘विदेशबाट ल्याउँदा महंगो हुन्छ, त्यसैले नेपालमै जतिसक्दो छिटो उत्पादन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’ 
ह्वीलचियरकै कारण अपाङ्गता भएकाहरु घरबाहिर निस्कन सजिलो भएको बताउँदै यसको सहज पहुँचको व्यवस्था हुनुपर्ने उनको भनाई थियो । 
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरलाई आफू निर्वाचित भएर आएपछि अपाङ्गतामैत्री बनाएको बताए । उनले भने, ‘ ह्वीलचियर नेपालमै बनाउने सन्दर्भमा महावीर पुनसँग भएको कुरालाई अघि बढाउँछौ ।’ 
ललितपुर महानगर महिला विकास शाखाकी प्रमुख महेश्वरी विष्टले अपाङ्गता भएका महिलाले भोग्ने समस्या अन्य विशेष भएको बताइन् । ललितपुर महानगरपालिका  अपाङ्गता भएका, महिला, बालबालिकाको क्षेत्रमा महानगर संवेदनशील भएको उनले बताइन् । 
स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि ललितपुर महानगरमा अपाङ्गतामैत्री संरचना निर्माण भएको बताउँदै महानगरप्रमुख अपाङ्गता भएकाको समस्याप्रति संवेदनशील भएको उल्लेख गरे । 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार