सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् । आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् ।
पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत टुंग्याउने उनको विश्वास छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने घर्तीको भनाइ छ ।
एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाको रुपमा प्रस्तुत भएको उनले जानकारी दिइन् ।
बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् । असन्तुष्ट समूहले खुला रूपमा विचार राख्न पनि प्रचण्डले आग्रह गरेको उनले जानकारी दिइन् ।
यी चार नेताले राखे लिखित असहमति
शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् । माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् ।
पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ । व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको नेताहरुको भनाइ छ ।
‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो।’
उनले व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने तर्क गरे ।