सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेता फेर्ने निर्णय गरेको हो । बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई हटाइएको छ । केन्द्रीय सदस्य एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने विषयमा पनि बैठकमा छलफल भएको छ । तर, निर्णय भने भएको छैन । ‘पार्टी गतिविधिविपरीत कार्य गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरीलगायतलाई पार्टीबाट निष्काशन गरिएको छ’ नेता वर्षमान पुनले बैठकको निर्णय सुनाउँदै भने । केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरेपछि बस्ने संसदीय दलको बैठकमा दाहाल–नेपाल समितिका नेताहरूले संसदीय दलको नेता फेर्ने प्रस्ताव राख्नेछन् ।