अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

बुधबार, फागुन १९, २०७७

जलालाबाद(अफगानिस्तान) । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेका छन् । युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भइरहेका बेला सञ्चारकर्मीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिबान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ ।कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टीभीका निर्देशक जलमाई लतिफीले जानकारी दिए । टेलिभिजन स्टेसनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरे पनि यसबारे विस्तृत समाचार आइनसकेको बताए । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । अफगानिस्तानमा तालिबान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिबान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख सर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ । सरकार र अमेरिकालगायतका विश्व समुदायले तालिबान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिबान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन् ।–एएफपी  
 

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार