काँग्रेस अर्लिइलेक्सनमा जान राजी भए एमसीसीमा एमालेकाे साथ

आज देउवा–ओली निर्णायक छलफलमा बस्दै 
शनिबार, फागुन १४, २०७८

भक्तपुर, १४ फागुन । काँग्रेस ‘अर्लिइलेक्सन’ मा जान राजी भए एमसिसीलगायतका विषयमा एमालेले साथ दिने स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बीच सदनमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा छलफल हुँदा एमालेले कांग्रेस समक्ष यस्तो प्रस्ताव राखेको हो ।  एमसिसी सदनबाट  पारित गराउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले केही दिनयता राजनीतिक भेटमा लागेका छन् । यसै सन्दर्भमा एमाले तथा कांग्रेसका नेताबीच शनिबार पनि वार्ता हुने तय भएको  एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । 
शुक्रबार साँझको भेटबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘काँग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहे एमालेले साथ दिने छ ।’  सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच शनिबार पुनः छलफल हुने जानकारी पनि दिए । 
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सदनमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहमतिमा पारित गर्नेबारेमा आज पनि वार्ता हुने भएको छ ।
शुक्रबार साँझ बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा थप छलफल आवश्यक महसुस भएकाले शनिबारका लागि वार्ता तय भएको हो । कांग्रेस–एमालेका शीर्ष नेताबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको थियो । 
शुक्रबार साँझको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसिसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गरेको जानकारी दिए । 
उनले भने, “प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राख्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उहाँले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुप¥यो भन्नुभएको छ, त्यो वातावरण भयो भने हामी निर्णय गर्छौँ भन्नुभयो ।” 
एमाले अध्यक्षले अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू (कांग्रेस–एमाले) एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको कार्कीले जानकारी दिए । 
छलफलमा ओलीले “हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ”, भनेको मन्त्री कार्कीले जानकारी दिए । 
छलफलपछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद्मा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । एमसिसी अनिर्णयको बन्दी बन्नुहँुदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उनले नेपाली कांग्रेस र एमालेबीचमा समझदारी हुनुपर्नेबारेमा छलफल भएको बताए । 
ज्ञवालीले छलफलबारे भने, “आजको छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकारसँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।” एमालेलाई संसद्मा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उनको भनाइ छ ।
छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार