बालकोट बैठक सकियो

कांग्रेस एमाले एक ठाउँमा उभिऔं : ओली, एमसीसी अनुमोदन गराै‌ : देउवा
शुक्रबार, फागुन १३, २०७८

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । शुक्लारबार साँझ ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेताहरु बालकोट पुगेका थिए ।

शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसेको थियो । 

कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका थिए । सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् । 
एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ ।

बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव राखेका थिए । 

बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सुचारु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताए । 

'प्रधानमन्त्रीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ' बैठकबारे जानकारी दिँदै उनले भने, 'हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भनेर ओलीले भन्नु भयो। '

ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताकालागि हामी एक ठाउँमा उभिनु पर्ने बताएको कार्कीले बताए ।  'धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं। लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ ।'

ओलीले संसद प्रवेको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए । कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आआफ्ना अडान भन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी  रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार