प्रतिनिधिसभा बैठक कक्षको सभामुखद्वारा अवलोकन

मंगलबार, फागुन १८, २०७७

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा आज जानकारी लिएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्थालगायतका विषयमा आवश्यक जानकारी लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् । सो अवसरमा सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिए । उनले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताए । 
सर्वाेच्च अदालतको फैसलालाई जनप्रतिनिधिमूलक संस्थाको सर्वाेच्च निकायको तर्फबाट खुशी र गौरवको विषय भन्दै उनले संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको उनको विश्लेषण थियो । सो अवसरमा संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतम, संघीय संसद् सचिवालयका कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संघीय संसद्का सबै सांसद तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारीसमेत गरिएको छ ।–रासस 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार