देउवा-ओली भेटमा एमसिसी अनुमोदानको मोडालिटीबारे छलफल

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेट
बिहीबार, फागुन १२, २०७८

काठमाडौँ, १२ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ । भेटमा उनीहरुबीच संसद्को अवरोध हटाउने र एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् । यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो ।
संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबुल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पारेका छन् । 

शीर्ष नेताबीच एमसिसी, संसद् अवरोध र राष्ट्रिय सन्दर्भबारे छलफल
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयलाई लिएर राजनीतिक दलहरुबीचको छलफल तीव्र भएको छ । 
सम्झौतालाई निष्कर्षमा पु¥याउने उद्देश्यले सत्तारूढ दल नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का शीर्ष नेताबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ । सरकारले लामो रस्साकस्सीपछि यही फागुन ८ गते सम्झौता प्रतिनिधिसभामा टेबुल गरेको छ । सम्झौता अनुमोदनलाई लिएर सत्ता गठबन्धन, प्रतिपक्षी र जनता विभाजित छन् । सरकारले सम्झौतालाई अनुमोदन गर्ने तयारीका साथ प्रतिनिधिसभामा टेबुल गरेपछि सो सम्झौताको विरोधमा रहेको पक्ष सडक सङ्घर्षमा छन् ।
आजदेखि प्रतिनिधिसभा सम्झौतामाथि छलफल हुने तयारी गरिएको भए पनि अन्तिम समयमा संसद् बैठक स्थगित भयो । प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजेका लागि बोलाइएको छ । सम्झौतामाथि छलफल सुरु हुने बैठकको सम्भावित कार्यसूचीमा समावेश छ । 
आज संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वाता भएको छ । सो भेटलगत्तै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग अध्यक्ष ओलीको छुट्टाछुट्टै ‘वान टु वान’ छलफल भएको थियो । शीर्ष नेताबीच ‘वान टु वान’ भेटपछि एमाले–कांग्रेस र एमाले–माओवादीका अन्य नेता सहभागी भएर छुट्टाछुट्टै छलफल भएको भेटमा सहभागी एमालेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
“उहाँहरु (देउवा र दाहाल) सँग गम्भीर र लामो कुराकानी भयो”, नेम्वाङले भने, “एमसिसी, राष्ट्रिय सन्दर्भ र संसद्को गतिरोधका सबन्धमा व्यापक छलफल भयो ।” माओवादी नेतृत्वसँग सकारात्मकरूपमा छलफल भएको उनले जानकारी दिए । एमाले र माओवादीबीच द्विपक्षीय छलफललाई निरन्तर अगाडि बढाउने सहमति भएको उनले बताए । 
एमसिसी, संसद्को अवरोध र राष्ट्रिय सन्दर्भमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको उल्लेख गर्दै नेता नेम्वाङले प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि भेट गर्ने सहमति भएको जानकारी दिए । 
एमाले–माओवादी नेतृत्वबीच बहुकोणबाट छलफल भएको जिकिर गर्दै उनले अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था नआएको सञ्चारकर्मीलाई बताए । “दुई अध्यक्षको भेटवार्तामा सहकार्य गर्ने विषयसम्म पुगिएको छैन”, उनले भने, “आज बस्ने काम ९छलफल० भयो, संसद्का गतिरोधका विषयमा कुराकानी भए, विगतका समीक्षा कुराकानी भए, पहिलोपटक यो तहमा यति गम्भीरतापूर्वक छलफल सुरु भएको छ ।”
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार