चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन

मंगलबार, फागुन १८, २०७७

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । सरकारी वार्ता टोली गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई सदस्य रहेका छन् । वार्ताका माध्यमबाट समस्या समाधान गर्ने सरकारको निर्णयानुरुप दुई सदस्यीय वार्ता टोली आज गठन गरिएको हो । 
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा वार्ता टोली गठन गरिएको उल्लेख छ । 
सञ्चारमन्त्री गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता चन्दसँग वार्ता हुन लागेको संकेत गरिरहेका थिए । सोमबार मात्रै पोखरामा प्रधानमन्त्री ओलीले चन्द समूहलाई शान्तिपूर्ण रुपमा मूलधारको राजनीतिमा आउन आग्रह गरेका थिए । त्यसअघि चन्दले फागुन ८ गते विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार