ह्वाइट हाउसमै ट्रम्पले कोरोनाको खोप लगाएको सार्वजनिक

कोरोना भाइरसलाई कम आँक्ने ट्रम्पको द्धैध चरित्र  
मंगलबार, फागुन १८, २०७७

वासिङ्टन । एएफपी अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ ।  उनीहरूले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएको तथ्य अहिले सार्वजनिक भएको हो ।  चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएको उनका सल्लाहकारले सोमबार जानकारी दिएका छन् । ‘राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोना विरुद्धको खोप लगाउनु भएको थियो’ उनका सल्लाहकारले भने । उनले अरु विवरण भने बताएका छैनन् ।  तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गर्दथ्र्ये । त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो ।  उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गर्दै आएका थिए ।  ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए । त्यसपछि अहिले जो बाइडन अमेरिकाको राष्ट्रपति भएका छन् । बाइडनले भने कोरोनाविरुद्धको खोप लगाउनुका साथै भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने मापदण्डको पालना गर्न सबै अमेरिकीलाई आह्वान गर्दै आएका छन् ।  कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना गर्न विश्व स्वास्थ्य संगठन लगाएका आधिकारिक र जिम्मेवार निकाय तथा वैज्ञानिकहरुले सुझाव दिएका हुन् ।–एएफपी 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार