सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । एक करोड ४२ लाख ४२ हजारभन्दा बढी भारतीयले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुनेछ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको हो । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीमा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा जानकारी दिएका हुन् । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने रकम तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । कोरोना भाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड सात लाख ६३ हजारभन्दा बढी कोराना मुक्त भएका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ५४ लाख ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ७३ हजार ९१८ जना व्यक्तिको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।–एएफपी