टी–२० सिरिजको दोस्रो खेल : नेपाल युएईसँग २५ रनले पराजित

शनिबार, माघ २९, २०७८

काठमाडौं, २९ माघ । चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए । राष्ट्रिय टिममा डेब्यू गरेका बमले भने ३३ रन बनाए । नियमित ओपनर कुशल भुर्तेललाई लगातार दोस्रो खेलमा आराम दिँदा नेपालले शनिबार ओपनिङ जोडीमा परिवर्तन गर्दै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेखलाई ल्याएको थियो ।
पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि भने नेपालको रन गति कम भयो । ज्ञानेन्द्र १९ बलमा २२ रन बनाएर आउट भए । दोस्रो विकेटको रुपमा दशौँ ओभरमा आउट भएका आसिफले २९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे । शुक्रबार ओमानविरुद्धको खेलमा अविजित ७३ रन बनाएर नेपाललाई जिताएका दीपेन्द्रले शनिबारको खेलमा ३३ बल खेल्दै ५ चौका मद्दतमा ४१ रन बनाए । युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २(२ तथा जुनैद सिद्दिकीले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरुप खेलिएको चार देशीय सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । अब नेपालले यो सिरिजको अन्तिम खेल सोमबार आयरल्याण्डसंग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार